Logo

भुकम्प पीडित ट्याक्सीको नम्बर प्लेट बेच्न नपाइने, ६ महिनाभित्र दर्ता नगरे खारेज

भुकम्प पीडित ट्याक्सीको नम्बर प्लेट बेच्न नपाइने, ६ महिनाभित्र दर्ता नगरे खारेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यातायात ब्यवस्था विभागले भुकम्प पीडितलाई बितरण गरिएको ट्याक्सी अर्को ब्यक्तिको नाममा दर्ता गर्न नदिने भएको छ । यस अघि बितरण गरिएको ट्याक्सीको नम्बर प्लेट नै दलालमार्फत मोलबढावढमा खरिदबिक्री भएपछि यस पटक सम्बन्धित ब्यक्तिको नाममा मात्र दर्ता गर्ने ब्यवस्था गरेको हो ।

गोलाप्रथाबाट जुन ब्यक्तिलाई ट्याक्सीको नम्बर परेको छ उसको नाममा मात्र दर्ता गरिने यातायात ब्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए । ‘सम्बन्धित ब्यक्तिको नाम बाहेक अन्य ब्यक्तिको नाममा ट्याक्सी दर्ता हुदैन,’ उनले भने, ‘जसले गर्दा नम्बर प्लेट खरिदबिक्री कार्यलाई निरुत्साहित गर्नेछ ।’

विभागले यही असार ७, ८ र ९ गते १४ जिल्लाका भुकम्प पीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी बितरण गरेको थियो । ट्याक्सी पर्ने भुकम्प पीडितलाई आइतबार बाटै दर्ता प्रक्रिया अघि बढाएको छ । ‘भुकम्प पीडितलाई ६ महिनाको समयावधि दिएर ट्याक्सी दर्ता प्रक्रिया शुरु गरेका छौं,’ उनले भने, ‘यदि कुनै ब्यक्तिले सो समयावधि भित्र दर्ता गर्न आएन भने त्यो नम्बर प्लेट स्वत खारेज हुनेछ ।’

विभागले काठमाडौं तथा भुकम्प पीडित १४ जिल्लाभर संचालन गर्न पाउने गरी रुट इजाजत सहित ट्याक्सी दर्ता शुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौंमा नयाँ ट्याक्सी दर्ता खुला नगर्न आग्रह गरेपनि विभागले विभागले सोही क्षेत्रका लागि नयाँ रुट इजाजत सहित दर्ता प्रक्रिया अघि बढाएको हो । ‘हामीले विशेष गरी काठमाडौंमा संचालनमा लागि रुट इजाजत सहित दर्ता शुरु गरेका छौं,’ भट्टराइले भने, ‘यदि सेवाग्रहीले सम्बन्धित जिल्लामा लगेर चलाउछु भनेमा सोही क्षेत्रका लागि इजाजत दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL