Logo

महानगरको कर उठाउने जिम्मा निजी क्षेत्रलाई, यसरी उठाउँदैछन् ३ कम्पनीले विज्ञापन कर

महानगरको कर उठाउने जिम्मा निजी क्षेत्रलाई, यसरी उठाउँदैछन् ३ कम्पनीले विज्ञापन कर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा अव निजी क्षेलाई दिने भएको छ । काठमाडौंको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउदै आएकोमा आगामी आर्थिक बर्ष २०७४/०७५ देखि निजी क्षेत्रलाई दिन लागिएको महानगरका राजस्व महाशाखा प्रमुख धु्रब काफ्लेले जानकारी दिए ।

जसअनुसार ठेक्कामा लिने कम्पनीले महानगरभित्र विज्ञापन कर उठाउने छ । जसमध्येबाट आगामी आवमा ८ करोड ६७ लाख रुपैयाँ बार्षिक रुपमा महानगरपालिकालाई उपलब्ध गराउने छ । निजी क्षेत्रलाई जिम्मा दिने विषयमा महानगरपालिकाका खरिद इकाई शाखाबाटा प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

काफ्लेका अनुसार सार्बजनिक निजी साझेदारी अन्तर्गत सञ्चालनमा रहेका स्थानमा भने महानगरपालिकाले नै कर उठाउने छ । जस अनुसार बसपार्क, सोलार प्यानल, आकासे पुललगायतका स्थानको बिज्ञापन कर भने महानगरपालिकाले उठाउने छ ।

महानगरपालिकाले ४ करोड १८ लाख रुपैयाँ न्यूनतम तोकेर बोलकबोल निकालेको थियो । जसमा सबैभन्दा बढी तिर्ने ३ ओटा कम्पनीलाई ठेक्कामा दिने तयारी महानगरले थालेको छ । साथै ती कम्पनीले महानगरलाई कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ दिन तयार भएका हुन् ।

यता काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की भने स्थानीय सरकार सहितको नयाँ नेतृत्व आइसकेकोले यो कहिलेबाट लागु हुने भन्ने नै अन्योल भएको बताउँछन् । ‘निजी क्षेत्रलाई दिने भनेर प्रक्रिया अघि सारेको हो,’ उनले भने, ‘अब जनप्रतिनिधिले निर्णय गरेमा मात्र लागु हुन्छ ।’

महानगरपालिकाले विज्ञापन कर उठाउनका लागि ३ ओटा खण्ड पहिचान गरेको थियो । तत्कालिन समयमा नदीलाई आधार मानेर क्षेत्र भाग लगाइएको हो ।

जसअनुसार मनोहरा खोला पश्चिमदेखि धोबी खोला पश्चिमदेखि बागमति र विष्णुमती पश्चिमदेखि महानगरपािलकाको कार्यालय सीमानासम्म गरेर सीमा निर्धारण गरिएको हो । १ नम्बर क्षेत्रमा रुट एडभर्टाइजिङलाई ठेक्कामा दिन लागेको छ । उसले बार्षिक २ करोड ६५ लाख रुपैयाँ महानगरलाई बुझाउने छ । त्यस्तै २ नम्बर क्षेत्रमा पाउने एक कम्पनीले ४ करोड ६५ लाख रुपैयाँ महानगरलाई बुझाउने छ ।

३ नम्बर क्षेत्रमा बिएनएस एडभाटाईजिङले १ करोड ६५ रुपैयाँ बुझाउने छ । निजी क्षेत्रले सर्बोच्च अदालतको २०७२ /५/ १६ को आदेश र विज्ञापन नीति २०७० ले तोके अनुसार मात्र विज्ञापन कर संकलन गर्न सक्ने छन् ।

काठमाडौं महानगरपालिकाले चालु आवको बैशाखसम्म ६ करोड ५५ लाख रुपैयाँ विज्ञापन कर असुली गरेको छ । ५ करोडको लक्ष्य राखिएकोमा सो बराबरको कर असुल गरेको हो । गत आबमा ४ करोड १७ लाख कर असुली गरेको थियो । आगामी आवमा आय ठेक्का सहित अनुमानित ९ करोड ३५ लाख विज्ञापन कर संकलन हुने महानगरको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL