Logo

कृषिप्रधान देशको यस्तो हालत, ९ अर्बको तरकारी आयात हुँदा ८ करोडको मात्र निर्यात

कृषिप्रधान देशको यस्तो हालत, ९ अर्बको तरकारी आयात हुँदा ८ करोडको मात्र निर्यात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कृषिप्रधान देशको रुपमा परिचित नेपाल तरकारीमा आत्म निर्भर बन्न सकेको छैन । तरकारीको बर्षेनी बढ्दो आयातले देश कृषिप्रधान भएपनि यसका लागि परनिर्भरता भने उस्तै रहेको छ ।

आर्थिक बर्ष २०७३/७४ को दश महिनामा नेपालमा ९ अर्ब ३४ करोड ७० लाख रुपैयाँको तरकारी आयात भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । जुन गत बर्षको दश महिनाको तुलनामा ४८ दशमलव ४ प्रतिशतले बढी हो । गत आवको सो समयसम्म नेपालमा ६ अर्ब २९ करोड ८४ लाख रुपैयाँको तरकारी आयात भएको तथ्याङ्क छ । त्यस्तै त्यसको अघिल्लो बर्षको दश महिनासम्म ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँको तरकारी आयात भएको थियो ।

राष्ट्र बैङ्कको तथ्यांकले नेपालमा तरकारीको आयात बार्षिक रुपमा बढेको देखाउँछ । त्यसो त नेपालबाट तरकारी निर्यात पनि हुने गरेको छ । तर आयातको तुलनामा निर्यातको आकार ज्यादै सानो छ । तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको १० महिनासम्म ७ करोड ६९ लाख रुपैयाँको तरकारी निर्यात भएको थियो । विशेषगरी भारतमा बाढी आउँदा तरकारीको उत्पादन नहुने हुँदा त्यतिबेला मात्रै नेपालबाट तरकारी निर्यात हुने गरेको छ ।

भारतबाट विशेषगरी प्याज, लसुन तथा आलु आयात हुन्छ । आलु, प्याजको नेपालमा व्यावसायीक खेती नभएकोले पनि भारतबाट आयात गरिरहनु परेको बल्खु तरकारी तथा फलफुल केन्द्रका व्यवस्थापक श्यामप्रसाद लामिछानेले जानकारी दिए । ‘नेपालको कृषि अझैपनि निर्वाहमुखि नै छ’ उनले भने ‘त्यसैले सबै सिजनमा माग धान्न सकेको छैन ।’ त्यस्तै सिजनमा धेरै तरकारी उत्पादन भएपनि कोल्ड स्टोरको अभावले गर्दा भण्डारण गरेर राख्न नसक्ने समस्या किसानले खेप्नु परेको उनले बताए । कृषक तथा व्यापारीले तरकारी कुहिने डरले उत्पादन हुनासाथ विक्री गरिहाल्नुपर्ने बाध्यता छ । त्यसले गर्दा अफ सिजनमा भारतबाटै तरकारी ल्याउनु परेको उनले जानकारी दिए ।

नेपालमा विशेषगरी चैत, बैशाख जेठमा तरकारी अभाव हुन्छ । पहाडमा पानी नहुँदा तरकारी खेती हुदैन र तराइको उत्पादनले माग धान्न सक्दैन । त्यसैले यो सिजनमा अलि बढी तरकारी आयात हुन्छ । तरकारी भण्डारण गर्न नसक्दा नेपालीलाई पुग्ने तरकारी यहीँ उत्पादन गर्न सम्भव भएपनि अहिलेसम्म तरकारी आयात गरिरहनु परेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL