Sagoon

आस्वाबाट यसरी लिनुहोस फाइदा, धितोपत्र बोर्डका गणेश श्रेष्ठको लेख

ganesh_shrestha

-गणेश श्रेष्ठ

नेपालको धितोपत्र बजारमा केही समय अगाडि भित्रिएको आस्वा (Application Supported by Blocked Amount, ASBA) प्रणाली लगानीकर्ताबीच लोकप्रिय बनिरहेको छ । धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रियालाई सरल, व्यवस्थित, पारदर्शी, लागतप्रभावी र छिटो—छरितो बनाउदै प्राथमिक बजारमा सुधार गरेर पूँजीबजारलाई आधुनिकीकरण गर्ने उद्देश्यले आश्वा प्रणाली लागू गरिएको हो । नेपाल धितोपत्र बोर्डले २०७३ माघ महिनादेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनमा ऐच्छिक रुपमा यस प्रणालीको शुरुवात गरेको थियो । यस प्रणालीमार्फत उल्लेख्य आवेदन पर्न थालेकोले बोर्डले २०७४ साउन महिनाबाट प्राथमिक निष्काशनमा आश्वा पद्धति अनिवार्य गर्ने निर्णय गरिसकेको छ ।

यस प्रणालीले राजधानी र केही ठूला शहरमा मात्र सीमित नेपालको पूँजी बजारलाई विस्तार गरेर देशव्यापी बनाएको छ । अब सार्वजनिक निष्काशनमा आउने कम्पनीका शेयर खरिदमा ७५ वटै जिल्लाबाट इच्छुक लगानीकर्ताले आवेदन दिन पाउने छन् । सबै नेपालीलाई पुँजीबजारमा समाहित गराउने आश्वा प्रणाली, यसको कार्यपद्धति, यसका फाइदा र यसको सफल कार्यान्वयनका बारेमा यो लेख केन्द्रित रहेको छ । ।

आस्वा भनेको के हो ?

सार्वजनिक रुपमा निष्काशन भएको धितोपत्र खरिदको आवेदन दिदा लगानीकर्ताको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाटै माग गरिएको धितोपत्रको मूल्य बराबरको रकम रोक्का राख्ने र बाँडफाँटमा परेको धितोपत्रको मूल्य बराबरको रकम मात्र आवेदकको खाताबाट खिच्ने प्रणालीलाई आश्वा प्रणाली भनिन्छ । अर्थात सार्वजनिक रुपमा निष्काशन गरिएको धितोपत्रमा बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाताबाट नै सोझै लगानी गर्न सक्ने प्रणाली नै आश्वा प्रणाली हो । यस प्रणालीबाट धितोपत्रमा लगानी गर्दा विगतमा जस्तो शेयर आवेदन दिन धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले तोकेको निश्चित संकलन केन्द्रमा गइरहनु पर्दैन, नेपाल धितोपत्र बोर्डबाट आश्वा सेवा प्रदान गर्न अनुमति लिएका बैंकमा खाता खोली आफूले चाहेको रकमको धितोपत्र खरिदको आवेदन दिन सकिन्छ ।

आस्वा प्रणालीको कार्य सम्पादन प्रकृया

आस्वा प्रणालीमार्फत धितोपत्र खरिदमा सहभागी हुन चाहने व्यक्तिले दरखास्त दिन धितोपत्र बोर्डबाट अनुमति प्राप्ते बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्दछ । त्यसरी नै संबन्धित बैक वा बैंक आबद्ध मर्चेन्ट बैंकर वा धितोपत्र किनबेच गर्ने दलाल ब्यवसायीकहाँ हितग्राही खाता पनि खोल्नुपर्दछ । आश्वाप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको र धितोपत्र बोर्डले आगामी साउनबाट यो पद्धति अनिवार्य गर्ने निर्णय गरिसकेको हुनाले प्रायः सबै बाणिज्य बैंक, अधिकांश विकास बैंक र वित्त कम्पनीहरुले यसको अनुमतिपत्र लिइसकेका छन् भने अधिकांश बैंकहरुले डिम्याट खाताको सुविधा पनि प्रदान गर्दै आइरहेका छन ।

डिम्याट खाता र बैंक खाता भएपछि आश्वा प्रणालीमार्फत प्राथमिक बजारमा सार्वजनिक रुपमा निष्काशन भएको धितोपत्र खरिदका लागि इच्छुक लगानीकर्ताले आवेदन गर्न पाउछन । लगानीकर्ताले आफूले लगानी गर्न चाहेको रकम खातामा रोक्का राख्न आफनो खाता रहेको बैंक तथा वित्तीय संस्थामा तोकिएको ढाँचामा निवेदन दिनुपर्दछ । यस्तो निवेदन खाता रहेको बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष गएर पनि दिन सकिन्छ भने अनलाईन बैंकिङ्ग सुविधा भएका वित्तीय संस्थामा अनलाईनबाटै आवेदन गर्न सकिन्छ ।

आवेदन परेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्यसमा उल्लेख भए वमोजिमकोे रकम रोक्का राखी धितोपत्र निष्काशन निर्देशिकाले तोकेको ढाँचा र समयमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकलाई जानकारी गराउनुपर्दछ । बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गरेको लगानीकर्ताको विवरणलाई निष्काशन तथा बिक्री प्रबन्धकले सम्बन्धित लगानीकर्ता (व्यक्ति वा संस्था) को डिम्याट खातामा रहेको विवरणसँग रुजु गर्न धितोपत्रको केन्द्रीय निक्षेप र राफसाफ गर्ने संस्था,सीडीएससीमा पठाउछ । सीडीएससीले सबै विवरण रुजु गरी पुनः निष्काशन तथा बिक्री प्रबन्धकलाई पठाउँछ ।

लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा उल्लेख गरेको विवरण र डिम्याट खाता खोल्दा पेश गरेको विवरण मेल खाएका लगानीकर्तालाई वैध आवेदक मानेर निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र बाँडफाँट गरी बाँडफाँटमा परेको धितोपत्रको मूल्य बराबरको रकम आवेदकको रोक्का रहेको खाताबाट हस्तान्तरण गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई अनुरोध गर्दछ । सोही अनुरोध वमोजिम नै सम्बन्धित बैंक तथा वित्तीय संस्थाले परेको धितोपत्रको मूल्य बराबरको रकम निष्काशन तथा बिक्री प्रबन्धकलाई हस्तान्तरण गरी बाँकी रकम फुकुवा गरिदिन्छ । अन्त्यमा निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र बाँडफाँटमा परेको धितोपत्र संबन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरी त्यसको जानकारी गराँउदछ । निष्काशन तथा बिक्री प्रबन्धकले यस्तो जानकारी सार्वजनिक सूचना वा आफ्नो वेवसाइट वा लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको इमेल ठेगाना वा मोवाइलमा एसएमएसका माध्यमबाट गराउन सक्दछ ।

यस प्रणालीबाट हुने फाइदा

यस प्रणालीबाट लगानीकर्ता, धितोपत्र निष्काशक कम्पनी, बिक्री प्रबन्धक र आवेदन संकलक बैंक तथा वित्तीय संस्था सबैलाई लाभैलाभ देखिएको छ ।

लगानीकर्तालाई हुने फाइदा

  • आवेदन फारम लिन, फारम तथा रकम बुझाउन, बाँडफाँडमा परेको धितोपत्र लिन र नपरेको रकम फिर्ता भुक्तानी लिन आवेदन पेश गरेको संकलन केन्द्रमा धाउन नपर्ने ।
  •  धितोपत्र बाँडफाँडमा नपरेको फिर्ता रकम बैंकमा दाखिला गर्न जान नपर्ने ।
  •  चेक नमिलेर आवेदन रद्द हुने जस्ता घट्ना हुन नसक्ने ।
  •  धितोपत्र खरिद गर्न रोक्का राखिएको सबै रकममा शतप्रतिशत व्याज प्राप्त गर्न सकिने ।
  •  आफुले खरिद गर्न चाहेको धितोपत्रको मूल्य बराबरको रकम मात्र रोक्का रहने ।
  •  बिक्री बन्द हुनु अघि आवेदन रकम घटाउन, बढाउन वा आवेदन नै फिर्ता लिन सकिने ।
  •  छद्मभेषी लगानीकर्ताहरुले धितोपत्रमा लगानी गर्न नसक्ने भएकोले वास्तविक लगानीकर्ताले धितोपत्रमा लगानी गर्ने अवसर पाउने ।
  •  धितोपत्रको बाँडफाँड र सूचिकरण गर्न धेरै समय नलाग्ने भएकोेले तत्काल दोस्रो बजारमा धितोपत्र कारोवार गर्न सकिने ।
  •  धितोपत्र बजारमा देशका अधिकांश स्थानका लगानीकर्ताहरुको पँहुच बढ्ने ।

 

बैंक तथा वित्तीय संस्थाहरुलाई हुने फाइदा

बैंकिङ्ग कारोवारमा वृद्धि हुने ।

अतिरिक्त आम्दानी प्राप्त हुने ।

रकमको लेनदेन बैंक मार्फत हुने भएकोले बैंकिङ्ग प्रणालीमा तरलताको अभाव नहुने ।

वित्तीय क्षेत्रमा पारदर्शिता तथा संस्थागत सुशासनमा अभिवृद्धि हुने । यस प्रणालीको सदस्यता प्राप्त गरी सेवा प्रदान गर्न चाहने बैंक तथा वित्तीय संस्थाले निर्देशिकाले तोकेको मापदण्ड पूरा गर्नुपर्ने र सेवा दिने अवधिभर सो मापदण्ड कायम राख्न संस्थागत सुशासन अपरिहार्य हुनजान्छ र संस्थाहरु निरन्तर उन्नतिको मार्गमा लाग्ने अवस्था सिर्जना हुन्छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकलाई हुने फाइदा

  •  दरखास्त आवेदन संकलन गर्न लाग्ने समय, जनशक्ति र लागतमा कमी आउने ।
  •  धितोपत्रको बाँडफाँट र फिर्ता भुक्तानी गर्न लाग्ने समय र लागतमा कमी आउने ।

धितोपत्र निष्काशन गर्ने संस्थालाई हुने फाइदा

  •  छिटो र कम लागतमा आवश्यक पूँजी संकलन गर्न सकिने ।
  • धितोपत्रको सूचिकरण छोटो समयमै गर्न सकिने ।

यस प्रणालीको कार्यान्वयनले धितोपत्र बजार थप व्यवस्थित एवं प्रभावकारी भई अन्तर्राष्ट्रिय मापदण्डको बन्न पुग्दछ । यसले धितोपत्र बजारमा गैर आवासीय नेपालीको लगानी भित्रयाउन थप मद्दत पुग्नुको साथै नेपालको धितोपत्र बजारमा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले पनि स्थानीय मुद्रामा ऋणपत्र जारी गरी शेयर बजारमा सहभागी हुने मार्ग प्रशस्त गर्नेछ । धितोपत्र बजारमा कालोधन रोकथाम गर्न समेत यो प्रणाली उपयुक्त हुनसक्छ ।

सफल कार्यान्वयनमा सरोकारवाला निकायकोे भूमिका 

स्टाण्डर्ड चार्टर्ड बैंकको एफपीओ भर्दा ठूलो संख्यामा आवेदन रद्द भएको घट्नाले आस्वा प्रणालीको सफल कार्यान्वयनका लागि लगानीकर्ता,आवेदन लिने वित्तीय संस्था, बिक्री प्रबन्धक, निष्काशनकर्ता र नियमनकारी निकाय सबै उत्तिकै जिम्मेवार हुनुपर्ने शिक्षा दिएको छ । यस प्रणालीको सफल कार्यान्वयनमा देहायका पक्षहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।

बोर्डको भूमिका सर्वोपरी

नेपालमा पूँजी बजारको विकास, विस्तार, सुशासन, नियमनमा धितोपत्र बोर्डको अहम् भूमिका रहन्छ । आस्वा प्रणाली धितोपत्र बजारको विस्तार, लगानीकर्ताको हित र वित्तीय सुशासनसंग संबन्धित भएकोले बोर्डले नियमन कार्यलाई व्यापक बनाउदै लैजानुपर्दछ । आश्वा प्रणालीमा आवद्ध रही सेवा प्रदान गर्ने सदस्यहरुको कार्यलाई प्रभावकारी बनाउन सेवा प्रदायक र बिक्री प्रबन्धकहरुलाई अद्यावधिक प्रविधिको उपयोग गर्न लगाउने, तालिमप्राप्त जनशक्तिको संलग्नता सुनिश्चित गर्ने, नियमित अनुगमन तथा निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा निर्देशन दिनुको साथै सरोकारवालाहरुसंग उचित समन्वय गर्ने र यस प्रणालीको सुसञ्चालनको क्रममा आउनसक्ने प्राविधिक तथा मानवीय समस्याका समाधान गर्ने उपायहरु पत्ता लगाउने जस्ता कार्य बोर्डको दायरामा पर्दछन् ।
यस प्रणालीलाई परिष्कृत गर्दै समयसापेक्ष बनाउने र सरोकारवाला पक्षहरुबीच उत्पन्न हुनसक्ने विवादको समाधानको लागि आवश्यक संयन्त्र तयार गर्ने तथा कुनै एक पक्षको कारणबाट अर्को पक्षलाई हुनसक्ने हानी नोक्सानीको उचित क्षतिपूर्ति दिलाउने व्यवस्था गर्नका लागि पनि बोर्ड तयारी गर्नुपर्दछ । बोर्डले यस सेवालाई देशव्यापी बनाएर पूँजी बजारमा समस्त नेपालीको पहुँच पु¥याउने लक्ष्य लिनुपर्दछ ।

यस प्रणालीको सफल कार्यान्वयनमा नेपाल राष्ट्र बैंकको समेत उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । आस्वा प्रणालीमा आवद्ध भई सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुको नियमन नेपाल राष्ट्र बैंकले गर्ने भएकोले यिनको प्रभावकारी अनुगमन तथा निरीक्षण गरी लगानीकर्तालाई छिटो छरितो र भरपर्दो सेवा दिनसक्ने अवस्थामा पु¥याउनुपर्दछ । गलत कार्य गर्ने र वित्तीय सुशासन कायम गर्न नसक्ने संस्थालाई आवश्यक कारवाही गरेर लगानीकर्तालाई त्यसबाट हुनसक्ने हानीबाट जोगाउनुपर्दछ ।

सेवा प्रदायक बैंंक तथा वित्तीय संस्थाको भूमिका

धितोपत्र बिक्री प्रबन्धक र लगानीकर्ताको बीचमा मध्यस्थको भूमिकामा रही सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाको पनि आस्वाको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहन्छ । यी संस्थाहरुले ग्राहकहरुलाई सहज रुपमा छिटो—छरितो र भरपर्दो सेवा दिन उपयुक्त प्रविधिका साथै योग्य, दक्ष, तालिमप्राप्त जनशक्ति विकासमा ध्यान दिन जरुरी छ । सेवाग्राहीलाई यस प्रणालीको वारेमा आवश्यक जानकारी दिने, यस प्रणाली मार्फत कारोबार गर्दा हुनसक्ने प्रविधिगत तथा मानवीय त्रुटीलाई रोकथाम गर्ने वा सच्याउन आवश्यक संयन्त्रको व्यवस्था गर्ने, धितोपत्र निष्काशन निर्देशिकाले गरेका व्यवस्था र नियमनकारी निकायले दिएका निर्देशनहरुको अक्षरशः पालना गर्ने, कार्य संचालनका क्रममा आउने समस्याको तत्काल समाधानको लागि नियमनकारी निकायसंग सम्पर्क गर्ने र समस्या समाधानका सुझाव सहित उपाय पेश गरेमा यो प्रणाली अझ भरपर्दो र विश्वसनीय बन्दै जानेछ ।

निष्काशन तथा बिक्री प्रवन्धकको भूमिका

धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको पनि ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । आस्वा प्रणालीको सफल कार्यान्वयनका लागि यस्ता संस्थाहरुले आफनो सेवालाई छिटो, छरितो र चुस्त बनाउन दक्ष र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने, सेवालाई देशभर विस्तार गर्ने, अद्यावधिक सूचना प्रविधिको प्रयोग गर्ने, नियमनकारी निकायले दिएका निर्देशनहरुको अक्षरशः पालना गर्ने, यस प्रणालीमा आवद्ध सदस्यहरुसँग उचित समन्वय गर्ने जस्ता कार्यहरु गर्नुपर्दछ ।

लगानीकर्ताको भूमिका

आस्वा प्रणालीका सेवाग्राही भनेका लगानीकर्ता हुन । उनीहरु यसको सेवा लिन सक्षम भए मात्र आश्वा सफल हुन्छ । यसको लाभ लिन लगानीकर्ता नै चनाखो हुनुपर्दछ । लगानीकर्ता भन्नाले सार्वजनिक रुपमा निष्काशन गरिएको धितोपत्रमा लगानी गर्ने व्यक्ति वा संस्थालाई वुझाउँछ । यस पद्धतिबाट लगानी गर्दा निष्काशन कम्पनीको वित्तीय विवरण फारमको रुपमा नपाइने भएकोले कम्पनीको अवस्थाका सहित अन्य जानकारी लगानीकर्ताले अन्य स्रोतबाट लिनुपर्ने हुन्छ । यस प्रणालीमा आउने प्राविधिक तथा मानवीय कमजोरी दोहोरिन नदिन लगानीकर्ता आफै पनि सजग हुनुपर्दछ । केही समस्या उत्पन्न भएमा आश्वा प्रणालीका सदस्य वा नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डसंग समन्वय गरी तिनलाई हटाउने प्रयत्न गर्नुपर्दछ । यस प्रणालीमा भ्(दबलपष्लन को पनि महत्वपूर्ण भूमिका हुने भएकोले यसको बारेमा जानकारी हासिल गर्नुका साथै भ्(दबलपष्लन सञ्चालनमा हुने कमजोरीप्रति पूर्व सावधानी अपनाउन जरुरी हुन्छ । लगानीकर्ताले डिम्याट खाता खोल्नुका साथै आश्वा सेवा दिने बैंक तथा वित्तीय संस्थामा खाता खोलेर लगानीका लागि हरदम तत्पर रहनुपर्दछु ।

वौद्धिक वर्गको भूमिका

आस्वा प्रणालीको सफल कार्यान्वयनमा बुद्धिजीवीको सहयोग पनि उत्तिकै जरुरी छ । आफ्ना ज्ञान,अनुभव र विश्वका अभ्यास सहित अद्यावधिक प्रविधिको उपयोगका सम्बन्धमा बुद्धिजीवीहरुले लेख रचनाको माध्यमबाट सरोकारवालालाई जानकारी गराइराख्नुपर्दछ । यस प्रणालीको कार्यान्वयनमा धितोपत्र बोर्डलाई पनि बुद्धिजीवीहरुको सुझाव उत्तिकै जरुरी हुन्छ ।

निष्कर्ष

धितोपत्र बजारलाई अझ व्यवस्थित एवं प्रभावकारी बनाउन अत्यन्त उपयुक्त देखिएको आस्वा प्रणालीको सफल कार्यान्वयन आवश्यक छ । नौलो पद्धति भएकोले यसमा सहभागी हुने संस्थाहरुबीच तादात्म्य कायम हुन नसकेजस्तो देखिए पनि समग्र पूँजीबजारको विस्तार र विकासमा समर्पित यी संस्थाहरु एकापसमा सुमधर सम्बन्ध विकास गरी सुधारको पक्षमा लाग्नुको विकल्प छैन । छिमेकी मुलुक भारत र बंगलादेशमा सफलतापूर्वक कार्यान्वयन भइसकेको यो प्रणालीलाई साधारण शेयरको प्राथमिक निष्काशनको साथसाथै हकप्रद, ऋणपत्र र सामूहिक लगानी योजनाको इकाईको निष्काशनमा समेतमा अवलम्बन गर्नका लागि सरोकारवाला व्यक्ति र निकायहरु तत्पर रहनुपर्दछ । यसलाई समयानुकूल सुधार गर्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण देखिन्छ ।
(नेपाल धितोपत्र बोर्डको २५ औं बार्षिक स्मारिकामा प्रकाशित बोर्डका अधिकृत श्रेष्ठको यो लेखमा व्यक्त विचार विचार लेखकका निजी हुन । उहाँलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ ।)

 


फेसबूक कमेन्ट गर्नुहोस्

Social Media Auto Publish Powered By : XYZScripts.com