Logo

पूँजी बजारमा विदेशी लगानी खुला, ५ अर्बसम्मको लगानी बिभागबाटै स्वीकृत

पूँजी बजारमा विदेशी लगानी खुला, ५ अर्बसम्मको लगानी बिभागबाटै स्वीकृत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब विदेशी लगानीकर्ताले पनि नेपालको पूँजी बजारमा लगानी गर्न पाउने भएका छन् । सरकारले विदेशी लगानी सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७४ पारित गर्दै विदेशी लगानीकर्तालाई पूँजी बजारमा लगानी गर्न खुला गरेको हो ।

नयाँ विद्येयकमा विदेशी लगानीकर्ताका लागि पूँजी लगानी कोष, दोस्रो बजारमार्फत धितोपत्रमा गरेको लगानी, लीज लगानीलगायत क्षेत्र विस्तार गरिएको छ ।

नेपालमा विदेशी लगानी भित्र्याउन कानुनी रुपमा सहजिकरण गर्ने उद्देश्यसहित उद्योग मन्त्रालयको पहलमा नयाँ विधेयक ल्याइएको हो । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले सो विधेयक पारित गरेको थियो । अबका दिनमा दोस्रो बजारबाट विदेशी लगानीकर्ताले सेयर खरिद गर्न सक्नेछन् ।

यसैगरी ५ अर्ब रुपैयाँसम्मको विदेशी लगानीको स्वीकृति उद्योग विभागले दिने भएको छ । यस अघि २ अर्ब रुपैयाँभन्दा माथीको विदेशी लगानी स्वीकृतिका लागि उद्योग तथा लगानी प्रवद्र्धन बोर्डमा जानुपर्ने व्यवस्था थियो ।

विधेयकमा प्राबिधिक हस्तान्तरणलाई विस्तारित रुपमा राख्दै साविकभन्दा नयाँ ‘गुडवील फर्मुला’, प्राबिधिक हक हस्तान्तरण, फ्रेन्चाइजलगायत विषय समेटिएको छ ।

त्यस्तै विदेशी लगानीको अधिकतम सीमा नतोकिने र न्यूनतम सीमा नियमावलीमा तोक्न सकिने व्यवस्था विधेयकमा उल्लेख छ ।

उद्योग तथा लगानी प्रबद्र्धन बोर्डलाई कार्यगतभन्दा बढी नीतिगत निकायको रुपमा राखी ५ अर्ब रुपैयाँभन्दा बढी लगानीको हकमा मात्र बोर्डमा जाने व्यवस्था गरेको छ । साथै बोर्डको कार्यभार कम गरेर विदेशी लगानी स्वीकृतिका लागि लाग्ने समयाबधि घटाइने भएको छ ।

विधेयकले लगानीपछि के–कस्ता रकमहरु लगानी वा सोको नाफा, लीजको भाडालगायतको व्यवस्थामार्फत लगानी फिर्ता सम्वन्धमा स्पष्ट व्यवस्था गरेको छ । जसले गर्दा लगानीकर्ताले सहज रुपमा आफुले कमाएको नाफा फिर्ता लैजना सक्नेछन् ।

एकल विन्दु सेवा केन्द्रमार्फत विदेशी लगानीका लागि आवश्यक हुने सबै कार्य गर्ने गरी कानूनी व्यवस्था गरिएको छ । विदेशी लगानीकर्तालाई परिचयपत्रको व्यवस्था गरी राम्रो र स्तरीय रुपमा काम गर्नेलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समेत विद्येयकमा उल्लेख छ ।

व्यवसायिक भिसा, कामदार भिसालगायतका विदेशी लगानीकर्ताहरुसँग जोडिने भिसा सम्बन्धी व्यवस्थलाई समेत सरल बनाएको छ । साथै नेपालमा भएका विदेशी लगानीकर्तालाई नेपाली नागरिकलाई सरह समान व्यवहार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL