Logo

कुलमानले भने, ‘मैले भ्रष्टाचार गरेको ठहरिए झुण्डाइदिए हुन्छ’

कुलमानले भने, ‘मैले भ्रष्टाचार गरेको ठहरिए झुण्डाइदिए हुन्छ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लिड बल्ब खरिद प्रकरणमा आफुले कुनै गलत नियत राखेको पुष्टी भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । ‘मैले सुधारको लागि लिड बल्ब खरिद प्रक्रिया अघि बढाएको हो,’ सो सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘यदि कसैले यसमा मेरो गलत नियत भेट्टाएमा झुण्डाएर फासी दिए हुन्छ ।’ साथै, आफ्नो कुनै गलत प्रमाण भेटिएमा देशमै नबस्ने समेत उनको उद्घोष थियो ।

हिउँदको समयमा विद्युत व्यवस्थापन गर्न कठिन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्नका लागि पनि तत्काल लिड बल्बको आवश्यकता भएको उनको तर्क थियो । विद्युत माग र आपूर्तिलाई सन्तुलित बनाउन अल्पकालिन कार्ययोजना बनाउनुपर्ने बाध्यता रहेको र त्यसलाई व्यवस्थापन गर्न लिड बल्ब खरिद गर्न लागेको उनले जानकारी दिए । ‘यदि मैलाई भ्रष्टाचार गर्नुथियो भने काम नै नगरी २/४ घण्टा लोडसेडिङ गरेर बसेको भए हुन्थ्यो,’ उनले भने, ‘देश र जनताकै लागि सुधारका काम गर्दा म माथी यत्रो आरोप ?’

देशका ३५ लाख ग्राहक समक्ष लिड बल्ब पुर्याउन तत्कालका लागि २ अर्ब रुपैयाँ बरावरको खरिद लागेको र उक्त बल्ब प्रयोगमा आएसँगै २ सय मेगावाट बिजुली बचत हुने उनको तर्क थियो । पछिल्लो समयमा बल्ब खरिदको विषयमा नकारात्मक हल्ला आएको भन्दै त्यस विषयमा आफुले जस्तोसुकै सामना गर्न तयार रहेको स्पष्ट पारे । ‘हामीले सार्बजनिक खरिद ऐन अनुरुप नै तत्काल बल्ब ल्याउनका लागि दुई देशबीचको सरकारबीच सम्झौता गरेर बल्ब किन्ने निर्णय गरेका छौं,’ उनले भने, ‘दुई देशको सरकारबीच सम्झौता गरेर खरिद गर्दा कसरी भ्रष्टाचार हुन्छ त्यो मलाई थाहा भएन ।’

आफ्नो मुख्य उद्देश्य जतालाई उज्यालो दिने रहेको बताउँदै सो कार्यका लागि सधै कटिबद्ध भएर काम गर्ने समेत उनले बताए । भारतको सरकारी स्वामित्वको इनर्जी एफिसेन्सी सर्भिस लिमिटेड (इइएएल)ले उस्को वास्तविक मूल्य प्रतिगोटा ६५ भारतीय रुपैयाँमा उपलब्ध गराउने निर्णय भएको र सो मूल्यमा कुनै तलमाथी नहुने समेत उनको तर्क थियो ।

उक्त बल्ब नेपाली उपभोक्ता सामु पुग्दा प्रतिगोटा मूल्य १ सय ३५ रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । जसमा भन्सार शुल्क र मूल्य अभिबृद्धि कर जोडिने छ । सो बल्बमा ३ वर्षको रिप्लेसमेन्ट वारेन्टी हुने छ भने उपभोक्ताले प्राधिकरणका सबै काउण्टर वा शाखाबाट खरिद गर्न सक्नेछन् । प्राधिकरणले तत्कालका लागि एउटा ग्राहकका लागि १० ओटा बल्ब अनुसार खरिद गर्न लागेको छ ।

बजारमा प्राधिकरणले खरिद गर्न लागेको जस्तो गुणस्तरको बल्ब ४ सय रुपैयाँभन्दा कम मूल्यमा नपाइने र यदि कसैले १ सय ५० रुपैयाँसम्ममा बेच्न सक्छ भने त्यसलाई प्राधिकरणले विक्रीका लागि समेत सहयोग गरिदिने उनको उद्घोष थियो । ‘अहिले प्राधिकरणले २ अर्बमा ल्याउन लागेको बल्ब नेपाली बजारबाट उपभोक्ताले ८ अर्ब रुपैयाँभन्दा बढी रकम तिरेर खरिद गर्दै आएका छन्,’ उनले भने, ‘बजारमा ‘प्राइस वार’का लागि पनि तत्कालका लागि प्राधिकरणले बल्ब खरिद गर्न लागेको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL