Logo

३० रुपैयाँको झण्डा, ३ सयको टिसर्ट, चुनावले ह्वात्तै बढायो व्यापार

३० रुपैयाँको झण्डा, ३ सयको टिसर्ट, चुनावले ह्वात्तै बढायो व्यापार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै विभिन्न पार्टीका समर्थकहरुबीच टिसर्ट लगाएर हातमा झण्डा बोक्दै आ–आफ्नो पक्षमा माहोल सिर्जना गर्ने होडबाजी चलेको छ । आफ्नो पार्टी तथा उम्मेदवारको ब्राण्डिङका लागि पनि टिसर्ट र झण्डा अपरिहार्य जस्तै भएको छ । एक अर्का पार्टीलाई देखाउनै उम्मेदवारले महङ्गो मूल्य तिरेर भएपनि प्रचारप्रचार सामग्रीको रुपमा टिसर्ट र झण्डा प्रयोग गर्ने क्रम बढेको हो ।

माग बढेसँगै सो सम्बन्धी काम गर्ने कम्पनीहरुलाई ‘अर्डर’ लिनै भ्याइनभ्याई भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारका सामग्रीको व्यापार उच्च रुपमा बढेको छ । विभिन्न राजनीतिक दलले आ–आफ्नो चुनावी प्रचारमा झण्डा, व्यानर तथा टिसर्टको प्रयोगलाई बढी प्राथमिकता दिएसँगै माग बढेको हो ।

चुनावी प्रचारमा ब्राण्डिङ तथा आफ्नो पक्षमा जनलहर देखाउनका लागि पनि झण्डा र टिसर्टको माग बढेको देखिन्छ । राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहदा झण्डा तथा टिसर्ट बनाउने कम्पनीहरुलाई त्यसको चाप परेको छ । राजनीतिक दललाई गाउँमा समान्य कोणसभामा मान्छे ल्याउनका लागि पनि टिसर्ट अपरिहार्य जस्तै भएको छ ।

चुनावको लागि मनोनयन दर्ता भएसँगै सिटर्स सिलाउने र त्यसमा प्रिण्ट गर्ने कालिगढहरु सुत्न समेत पाएका छैनन् । टिसर्ट तथा झण्डाको लागि सबै राजनीतिक दलहरु काठमाडौं नै आउनुपर्ने कारण पनि चाप पर्न गएको हो । राजनीतिक अन्यौलताका कारण मनोनय दर्ता र चुनावी मितिबीचको ग्याय छोटो हुँदा टिसर्ट, क्याप तथा झण्डाजस्ता निर्वाचन प्रचारप्रसार सामग्री बनाउन नभ्याएको बुम मार्केटिङका संचालक सन्तोष पोख्रेल बताउँछन् । ‘त्यस्ता सामग्री बनाउनका लागि कालिगढको अभाव छ भने समय पनि एकदमै कम छ,’ उनले भने, ‘ग्राहकहरुले तुरुन्तै चाहियो तर, सामान नै नभएका कारण दिन सम्भव छैन ।’

सामान्य अवस्थामाभन्दा महङ्गो मूल्य तिर्दा पनि सामान पाउन नसकिएको उनी बताउँछन् । ‘चुनावी प्रचारप्रसारका लागि एउटै व्यक्तिले ५÷६ हजार थान टिसर्ट तथा हजारौ थान झण्डा माग गर्छन,’ उनले भने, ‘तर, आवश्यक मात्रामा सामान नहुँदा अर्डर नै क्यान्सिल गर्नु परेको छ ।’
कामको चापले गर्दा मनोनयन दर्ता भएसँगै अहिलेसम्म पनि सुन्न नपाएको सम्बद्ध स्क्रिट प्रिण्टका कालिगढहरु बताउँछन् । ‘जनशक्ति अभावले गर्दा रातभर नसुती काम गरिरहेका छौं,’ ती कालिगढले भने, ‘अझै पनि एउटै व्यक्तिबाट ५/६ हजार थान टिसर्टको अर्डर आईरहेको छ तर ‘क्यान्सिल’ गरिहेका छौं ।’

अहिले राजधानीमा आधुनिक प्रिण्ट तथा सयौ स्क्रिन प्रिण्टले टिसर्ट तथा झण्डा बनाउने काम गर्दै आएका छन् । त्यसैगरी सोही मात्रामा गार्मेण्टहरु संचालनमा छन् । तर, टिसर्ट सिलाउने कालिगढ नुहुँदा समस्या परेको पोख्रेल बताउँछन् ।

टिसर्ट र झण्डाको माग बढेसँगै बजारमा त्यसको मूल्य पनि बढेको छ । सामान्य अवस्थामा १ सय ५० रुपैयाँमा पाइने टिसर्टमो मूल्य बढेर २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म पुगेको छ भने त्यसको गुणस्तर अनुसार मूल्य बढेको छ । अहिले विभिन्न राजनीतिक दलले चुनाव प्रचारप्रसारको लागि टिसर्ट, झण्डा र टोपीमा मात्रै करोडौ रकम खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL