Logo

प्रशासनिक खर्चवापतको ८ करोड रुपैयाँ जोगाउने काठमाडौं महानगरको उद्देष्य, अन्य क्षेत्रको अध्ययन गर्न समिति गठन

प्रशासनिक खर्चवापतको ८ करोड रुपैयाँ जोगाउने काठमाडौं महानगरको उद्देष्य, अन्य क्षेत्रको अध्ययन गर्न समिति गठन



काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्धनको परिमाण, खाजा खर्च घटाएर तथा भत्ता कटाएर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ । आईतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको खर्च कटौती सम्बन्धि बैठकले यस्तो निर्णय गरेको हो ।
महामारीले जनतामा परेको सकसमा बढी खर्च गर्न सकियोस् भनेर यसप्रकारको निर्णय गरेका हौं ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने — सरकारको खर्च मितव्ययी सम्बन्धि नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धि सुझावलाई आधार मानेर हामीले महानगरको खर्च कटौती गर्ने निर्णयमा पुगेका हौंं, प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।

साउन महिनाबाटै लागू हुने गरी गरिएको निर्णयमा फोहोरमैला व्यवस्थापनमा खटिने चालक र कुचीकार तथा कोभिड — १९ नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई महाशाखा प्रमुखको शिफारिसमा शुरु तलब स्केलको ५० प्रतिशत भत्ता दिने अन्य सबैको भत्ता कटौती गर्ने निर्णय गरिएको छ ।

सहसचिव राजेश्वर ज्ञवाली भन्छन् — हामीले तत्काल देखिएका धेरै खर्च हुने क्षेत्रमा तत्काल कटौती गरेका हौं । अरु पनि क्षेत्र हुन सक्छन् । हामी अध्ययन गरेर क्रमशः निर्णय गर्दै जान्छौं ।
बैठकले साउनबाट प्रमुख प्रशासकीय अधिकृतको मासिक इन्धन १०० लिटर, सहसचिवको ८० लिटर, बिभागीय प्रमुख/महाशाखा प्रमुख र महानगरका सवारीका लागि ७० लिटर र मोटरसाइकल प्रयोगकर्ताका लागि १० लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रशासन बिभागका प्रमुख नमराज ढकालकाअनुसार यसअघि प्रमुख प्रशासकीय अधिकृतका लागि १२० लिटर, सहसचिवका लागि १०० लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो । यसै गरी बिभागीय प्रमुखहरुका लागि ८० लिटर तोकिएको थियो तर थप माग गरेर १०० लिटरसम्म लिने गरेको देखिन्छ । ढकाल थप्दै भन्छन् — अब कुनै सवारीले थप इन्धन लिनु प¥यो भने लगबुक भरेर किलोमिटरका आधारमा मात्र उपलब्ध गराइनेछ ।

यस अघि कार्यपालिका बैठकको खाजा खर्च २५० रुपैयाँ थियो । त्यसलाई घटाएर १५० रुपैयाँ कायम गरिएको छ । यसैगरी इन्धन उपयोगका बिषयमा अध्ययन गर्न यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यको संयोजकत्वमा ३ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । समितिको सदस्यमा इञ्जिनियर प्रमोद डंगोल र लेखा अधिकृत श्याम न्यौपाने हुनुहुन्छ । समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL