Logo

ढकाल प्यानलको निष्कर्ष : प्रधान प्यानलले चुनाव हार्ने भएपछि कोरोना देखाएर निर्वाचन सारियो, कानूनी उपचारमा जाँदै

ढकाल प्यानलको निष्कर्ष : प्रधान प्यानलले चुनाव हार्ने भएपछि कोरोना देखाएर निर्वाचन सारियो, कानूनी उपचारमा जाँदै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्याक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलले अर्को पक्षले चुनाव हार्ने भएपछि कोरोनालाई देखाएर चुनावी मिति सारेको निष्कर्ष निकालेको छ । आज एक पत्रकार सम्मेलन गर्दै महासंघ अध्यक्ष भवानी राणा तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समर्थन गरेको किशोर प्रधान प्यानले चुनाव हार्ने निश्चित भएपछि उनीहरुले कोरोनाको बाहनामा यहि साउन २६ र २७ गते हुने महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति गैर कानूनी रुपमा स्थगित गरेको आरोप लगाएका छन् ।

laxmi

सरकारले १२० दिनसम्म लगाएको लकडाउन गत मंलबारबाट हटाएको र कोरोनाको प्रभाव तथा त्रास विस्तारै कम हुँदै गएको अवस्थामा निर्वाचन गर्न सकिने भएपनि अध्यक्ष राणाले आफुले समर्थन गरेको टीमले हार्ने भएपछि चुनाव नै स्थगित गरिएको आरोप लगाएका छन् । ‘चैतमा हामीले साधरणसभा गर्न नसकेपछि लकडाउनकै बीचमा निर्णय गरेर हामीले साधारणसभा साउन २६ र २७ गतेका लागि तोकेका थियौं,’ महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले भने, ‘हिजो महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो । त्यसमा मलाई आपत्ती लागेका छन ।’

कार्यसमिति बैठक बोलाउनका लागि प्रशस्त समय हुँदाहुँदै पनि कार्यसमितिको अधिकारलाई हिजो बसेको पदाधिकारी बैंठकले कुल्चिने काम गरेको भन्दै यो महासंघको इतिहासमै अत्यन्तै दुखःद घटना भएको उनको तर्क थियो । ‘यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ । र मलाई स्यालले कुखुरा लग्यो भन्नेभन्दा पनि स्याल पल्कियो भन्ने कुराले बढी पिरोलेको छ,’ उनले भने, ‘ चैतमा हुनुपर्ने साधारणसभा लकडाउनका कारण गर्न सकिएन । त्यसपछि पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति रह्यो । यसले गर्दा एकातर्फ यो संस्था बेवारिसे हुन सक्ने अवस्था देखियो भने अर्कोतर्फ यसमा आवद्ध लाखौं उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा अभिभावक विहिनको अवस्था महशुस गर्नुपर्यो ।’ महासंघको निर्वाचन आगामी चैतमा गरेपनि आफुहरुलाई कुनै आपत्ति नरहेको जानकारी दिँदै तर हासंघजस्तो संस्था विधानसम्वत चल्नुपर्ने उनको तर्क थियो ।

साथै पदाधिकारीको बहुमतको आधारमा निर्णय गर्दै महासंघलाई दुर्घटनातर्फ धकेलेको समेत उनको आरोप थियो । ‘मैले महासंघको निर्वाचन पूर्णरुपमा स्वास्थ्यसम्वन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गरौं भन्ने राय राखेको थिएँ । यस्तो राय राख्दा महासंघकै पदाधिकारी साथीहरुले स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो,’ उनले भने, ‘आफ्नो सार्वजनिक जीवनमा मैले पनि स्वास्थ्यभन्दा महासंघ ठूलो हो भनेर कहिल्यै पनि धारणा राखेको छैन् । त्यस्तो म सोच्न पनि सक्दिन ।’ साथै आफुले मैले कोभिडको महामारीमा साधारणसभाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता गर्ने कुरा नगरेको समेत स्पष्ट पारे ।

कार्यक्रममा महासंघका बस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघका केही पदाधिकारीले बहुमतको आधारमा हार स्वीकार गर्दै चुनाव सार्ने काम गरेको बताए । ‘अहिले महासंघका अध्यक्ष लगायतका केही पदाधिकारीहरुले कोरोनाका कारण स्वास्थ्य देखाउँदै चुनाव रोक्न निर्णय गरेको जानकारी दिएका छन्,’ उनले भने, ‘तर उनीहरुले आफु हार्ने निश्चित भएपछि केही समयका लागि पदमा रहिरहन भएपनि चुनाव सार्ने काम गरे ।’

साथै उनीहरुले पूर्व अध्यक्षहरुको रायसुझावलाई गत तरिकाबाट प्रचार गर्दै अध्यक्षलगायतका केही पदाधिकारीले गलत निर्णय गरेको आरोप लगाए । ‘महासंघको पूर्व अध्यक्षको नाममा अगाडि खसीको टाउँको देखाएर कुकुरको मासु बेच्ने काम भयो,’ उनले भने ।

यसैगरी कार्यक्रममा महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले अहिलेको कार्यसमिति महासंघको विधान अनुरुप अवैधानिक भएको भन्दै पुरै कार्यसमिति खारेज हुनुपर्ने बताए । ‘महासंघको विधान अनुरुप जस्तोसुकै परिस्थितीमा पनि चैतको २८ गतेको मितिले २ महिनाभित्र गरिसक्नुपर्छ,’ उनले भने, ‘तसर्थ अहिलेको सम्पूर्ण कार्यसमित अबैधानिक भएका कारण यसलाई खारेज गरेर नयाँ परिस्थिती अनुरुप निर्वाचन गरेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा एशोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले महासंघ पदाधिकारी बैंठकले निर्वाचनको मिति सार्ने जस्तो विषयलाई हतासमा निर्णय गर्नु एकदमै दुर्भाग्यपूर्ण रहेको बताए । ‘महासंघको निर्वाचन अनिश्चित समय रोक्ने पदाधिकारीको निर्णय यसरी हतारमा आउनु एकदमै आपत्तिजन छ,’ उनले भने, ‘महासंघले सरकारसँग अहिलेको अवस्थामा निर्वाचन गर्न सहमति मागिरहेको अवस्थामा उक्त निर्णय नआउँदै महासंघ पदाधिकारी बैंठकले बहुमतको आधारमा चुनाव राक्नु असल नियत होइन ।’

यसैगरी जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार तथा महासंघ ५ नम्बर प्रदेशमा अध्यक्ष गुणनीति तिवारी भने महासंघ पदाधिकारी बैंठकको चुनाव रोक्ने निर्णय विरुद्ध कानूनी उपचारमा जाने बताए । महासंघको अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै कानूनी उपचारमा गएरै भएपनि नयाँ उपायको खोजी गर्ने बताए । ‘अहिले महासंघ नेतृत्व चुनावी चाउपेचमा लाग्दा उद्योगी व्यवसायीको समस्या समाधान गर्न सकिएको छैन,’ उनले भने, ‘तसर्थ महासंघ नेतृत्व नसच्चिए कानूनी उपचारमा गएरै भएपनि समस्या समाधानको बाटो खोज्न बाध्य हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL