Logo

पृथ्वी राजमार्गमा साना-ठूला २०० भन्दा बढी पहिरो, सडक खोल्न दुई दिन लाग्ने

पृथ्वी राजमार्गमा साना-ठूला २०० भन्दा बढी पहिरो, सडक खोल्न दुई दिन लाग्ने



काठमाडौं । विभिन्न ठाउँमा पहिरो गएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आउन केहीदिन पर्खिनु पर्ने भएको छ । यो मार्गमा साना–ठूला २०० भन्दा बढी पहिरो गएकाले सडक खोल्न दुई दिन लाग्ने बताइएको छ ।

laxmi

पृथ्वी राजमार्गको चितवन र धादिङ्गको सिमानामा रहेको मोवा खोला पुलको एप्रोच सडकमा क्षति भएको कारण काठमाडौँ तर्फ आवत जावत गर्ने सवारी साधनले भने अझै केही समय पर्खनु पर्ने सडक विभागका अधिकारीले बताए ।

राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।

सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, ‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।’

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए । उनले भने, ‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।’ अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ ।

काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ ।

मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL