Logo

विश्व कोरोना महामारीको थप खतरातिर लम्किने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व कोरोना महामारीको थप खतरातिर लम्किने विश्व स्वास्थ्य संगठनको चेतावनी



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विभिन्न देशहरु कोरोना महामारीलाई झन खतरातिर धकेलिरहेको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस गब्रेससले सरकारहरु प्रभावकारी प्रयास गर्न असफल भएमा कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने बताएका हुन । उनले धेरै देशहरु खराब दिशामा गइरहेको बताए ।
संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनले बताए ।

विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ। विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु खडा गरिएको आरोप लगाउन थालेका छन् ।

उनले भन्न थालेका छन्, ‘परीक्षण गरेर संक्रमण बढी देखाइएको छ । बढी परीक्षण गरेपछि संक्रमण देखिन्छ नै ।’ तर स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताएका छन् । ट्रम्प र स्वास्थ्य विज्ञबिचको तनाव उत्कर्षमा पुग्दा समस्या पनि थप बढेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै त्यहाँ एक लाख ३५ हजार पाँच सय भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८४ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा। टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए । नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले बताए ।

उनले भनेका छन्, ‘कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन् ।’

भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए । उनले चेतावनी दिँदै भने, ‘निकट भविष्यमा विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना देखिँदैन ।’

उनले भने, ‘यदी आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुनेछ ।’

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ७१ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै उनले चाँडै नै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन्छ भन्नु वास्तविकतामा आधारित नरहेको बताएका छन् । खोप बनाउनका लागि अति तीव्र गतिमा काम भइरहेको तर त्यसका लागि समय लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL