Logo

नेकपाको स्थायी समिति बैठक १२ गतेसम्मलाई स्थगित, अध्यक्षद्वयको मन्तव्यमा सकियो बुधबारको बैठक

नेकपाको स्थायी समिति बैठक १२ गतेसम्मलाई स्थगित, अध्यक्षद्वयको मन्तव्यमा सकियो बुधबारको बैठक



\काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ। बुधबार बिहान ११ बजे बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका एजेण्डाहरुमा सामान्य छलफल भएपछि बैठक १२ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

बैठकमा अध्यक्षद्वयले तयार पारेको कार्यसूची महासचिव विष्णु पौडेलले प्रस्तुत गरी बैठक सुरु गरेका थिए। स्थायी समिति बैठकमा कार्यसूचीमा सामान्य विमर्श भएपछि अध्यक्षद्वले आफ्नो धारणा राखेका थिए।

उनीहरुले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका क्रममा सरकारले खेलिरहेको भूमिका, पार्टीको सांगठनिक अवस्था लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।

बैठकमा विभिन्न सातवटा विषय छलफलका लागि पेश भएका थिए। जसमा कोरोना रोकथाम र उपचार, सीमा समस्या, अमेरिकी सहयोग एमसीसी, पार्टी एकता लगायतका विषय थिए।

बैठकमा उपस्थित स्थायी समिति सदस्यहरुले नागरिकता विधेयक, पश्चिम रुकुममा भएको जातीय विभेदको घटना ९चौरजहारी प्रकरण० लगायतमा पनि छलफल गर्नुपर्ने आवाज उठाएपछि अर्को बैठकका लागि ती एजेण्डा पनि थप भएका छन्।

बुधबारको बैठकमा एजेण्डामाथि मोटामोटी छलफल र अध्यक्षको मन्तव्यपछि १२ गतेसम्मका लागि सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL