Logo

बिहीबारदेखि काठमाडौंका सबै पसल खोलिने, लकडाउनको प्रतिकारमा उत्रने व्यवसायीको चेतावनी

बिहीबारदेखि काठमाडौंका सबै पसल खोलिने, लकडाउनको प्रतिकारमा उत्रने व्यवसायीको चेतावनी



काठमाडौं । काठमाडौंका व्यवसायी तथा व्यापारीहरुले भोली (बिहीबार)देखि सबै पसलहरु संचालनमा ल्याउने भएका छन् । सरकारले लकडाउन मात्र गरिरहने तथा रोजीरोटीका लागि कुनै विकल्प नदिएपछि काठमाडौंका व्यवसायीहरुले लकडाउनको अवज्ञा गर्दै आफ्ना पसलहरु संचालनमा ल्याउने भएका हुन् ।

पछिल्लो समय लकडाउनको समय थपिँदै जाँदा व्यापार व्यवसाय चौपट भई घरभाडा, कर तथा बैंकको ब्याज र किस्ता तिर्न नसकेको भन्दै सरकारलाई चुनौती दिनेगरी आफ्ना पसल खोल्न लागिएको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।

घरभाडा बढ्दै जाने, सरकारले कर तिर्न ताकेता गर्ने र बैंकले किस्ता तिर्न ताकेता गरेपछि यस्तो निर्णय लिनुपरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । उनका अनुसार सरकारले लकडाउन खोल्ने कुनै तदारुकता नदेखाएको भन्दै यस्तो कदम चाल्न व्यवसायीहरु बाध्य भएका हुन् ।

सरकारले केही व्यवसायलाई मात्रै खोल्न दिएको तर कर, बैंकको ब्याज र किस्ता, तथा घरभाडा सबै उठौतीका लागि व्यवसाय संचालनका लागि बाध्य हुनु परेको उनको तर्क थियो । ‘की हाम्रा सबै दायित्व सरकारले व्यहोर्नुपर्छ अन्यथा हामीले बिहीबारदेखि सबै पशल तथा व्यवसाय संचालनमा ल्याउने निर्णय गरेर अघि बढेका छौं,’ उनले भने, ‘व्यवसायीले भोलीदेखि दैनिक बिहान ११ बजेसम्म आफ्ना पसल, व्यापारिक मललगायत खोल्ने छन् ।’ व्यवसायीहरु सबैजना मिलेर न्युनतम सामाजिक दुरी कायम गर्दै पसलहरु खोल्ने बताएका हुन ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा ब्राण्डिङ समितिका सभापति सन्तोष पाण्डेले पनि अब आफ्ना उद्योग व्यवसाय संचालन गर्नुको विकल्प नरहेको बताए । बन्दको अवस्थामा पनि कर्मचारीको तलव दिनुपर्ने सरकारको राजस्व तिर्नुपर्ने लगायतका भार थपिँदै जाने र व्यवसाय बन्द हुँदा व्यापारी तथा व्यवसायीहरु मारमा परेको भन्दै पसल खोल्नुको विकल्प नभएको उनको भनाई छ । ‘उद्योगी व्यवसायीले रहरले नभई बाध्यताले आफ्नो उद्योग व्यवसाय संचालनमा ल्याउन लागेका हुन्,’ उनले भने, ‘आफ्नो रोजीरोटी जोगाएर जीविकोपार्जन संचालनका लागि उद्योगी व्यवसायीहरु लकडाउनको प्रतिकारमा उत्रिएर भएपनि व्यवसाय संचालन गर्नेछन् ।’

सरकारले लकडाउन मात्र थप्दै जाने तर कर तिर्नका लागि दवाव दिँनेजस्ता क्रियाकलापका कारण व्यवसायीहरु शान्तिपूर्ण विरोधमा उत्रनुपर्ने भएको पाण्डेले जानकारी दिए । ‘अहिले सरकारले उद्योगी व्यवसायीलाई घरभित्रै थुनेर कर तिर्न उर्दी जारी गरेको छ,’ उनले भने, ‘राज्यले व्यवसायी माथी एकदमै अमानवीय व्यवहार गरेको छ अब उद्योगी व्यवसायीहरु आफ्ना उद्योग व्यवसाय संचालन गर्न बाध्य हुनेछन् ।’ सरकारले प्रत्येकचोटी लकडाउनको समयसिमा बढाउँदै जाँदा उद्योगधन्दाहरु त चौपट छन नै सोही अनुसार दैनिक ज्यालादारीमा काम गर्नेहरु समेत मारमा परेका छन् । साथै लकडाउनका कारण उद्योगी व्यवसायीको धेरैजसो सामग्रीहरु काम नलाग्ने अवस्थामा पुगिसकेको समेत उनले जानकारी दिए ।

सरकारले पछिल्लो समय लगडाउनको समय थप्दै जाँदा देशैभरबाट उद्योगी व्यवसायी प्रतिकारमा उत्रन थालेका छन् । कतिपय जिल्ला चेम्बरहरुले संस्थागत निर्णय नै गरेर उद्योग व्यवसाय संचालन गर्ने घोषणा समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL