Logo

आज लकडाउनको ६४ औं दिन : सबैको एउटै प्रश्न-सरकार लकडाउन कहिले खुल्छ ?

आज लकडाउनको ६४ औं दिन : सबैको एउटै प्रश्न-सरकार लकडाउन कहिले खुल्छ ?



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ६४ औं दिन हो । अहिले सरकारले जारी गरेको सातौं चरणको लकडाउन चलिरहेकोे छ ।

सरकारले आगामी जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।

यस्तै दोस्रो चरणमा लकडाउनको अवधि थप गर्दै चैत २५ सम्म बढाइएको थियो । यस्तै सरकारले तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ मध्यरातसम्म, चौथो चरणमा वैशाख १५ मध्यरातसम्म र पाँचौं चरणमा वैशाख २५ मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याउँदै गएको थियो । यसैक्रममा सरकारले छैटौंपटक जेठ ५ मध्यरातसम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।

कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको मृत्युसमेत भएपछि सरकार थप सतर्क बनेको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने व्यवस्था गरिएको । यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ ।

६४औं दिनसम्म आइपुग्दा यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा लकडाउन कार्यान्वयनमा साथ दिएको देखिन्छ । ८ हप्ता बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेपनि जारी लकडाउनबारे विस्तृत उल्लेख नगरेसँगै सर्वसाधारण लकडाउन कहिलेसम्म चल्ने हो भन्ने चिन्तामा देखिएका छन् । सम्बोधनमा प्रधानमन्त्री ओलीले उद्योगधन्दा सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउन लागिएको बताए ।

उनले आयात निर्यातलाई थप सहज बनाउने, उद्योग धन्दा सञ्चालनको उपयुक्त वातावरण बनाउने पनि बताएका छन् प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी मुलुकमा अहिले फैलिँदो अवस्थामा रहेकोले सबैलाई सचेत र सजग बन्न आग्रह समेत गरे । तर, अहिलेसम्म सरकारले लकडाउन कहिलेसम्म यहि मोडालिटीमा चलिरहने हो र आगामी दिनमा कसरी अगाडि बढने योजना छ भन्ने जानकारी नगराएकाले पनि सबैमा लकडाउनबबारे अन्यौलता देखिएको छ ।

अर्कोतर्फ लकडाउनका कारण मुलुकका मुख्य शहर सुनसान छन् । बन्दाबन्दीका कारण बन्द रहेको आर्थिक गतिविधि सुचारु गर्ने भनिए पनि अहिलेसम्म उपयुक्त ढंगले सञ्चालनमा भने आउन सकेको छैन् पछिल्लो समय ३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ६ सय नाघेको छ । संक्रमण थप जिल्लाहरुमा बिस्तार भएसँगै जनमानसमा त्रास बढेपनि नेपालमा कोरोना संक्रमित धमाधम निको हुँदै गएका छन् । आइतबारसम्म नेपालका कुल संक्रमित मध्ये १०५ जना निको भएर घर फर्किइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु पनि सबै सामान्य अवस्थामा उपचाररत छन् ।

लामो लकडाउनका कारण सर्वसाधारणदेखि सबै वर्ग क्रमश समस्यामा पर्दै गएका छन् । सर्वसाधारणलाई दैनिक गुजाराको चिन्ता छ भने व्यवसायी, उद्योगी तथा अन्य क्षेत्रमा समेत बैंक ऋण, कर्मचारीको तलबजस्ता समस्या बढ्दै गएका छन् । यता सर्वसाधारण तथा व्यवसायीले सरकारले लकडाउनको उचित विकल्प नखोजेको, उपयुक्त राहत प्याकेज नल्याएको र आफ्नै पारामा अघि बढेको बताउँदै आएका छन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिक महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।

पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत दिनहुँ पक्राउ गरि कारवाही गरिरहेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्ने्विरुद्ध प्रहरीले कारबाही जारी राखेको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ ।

यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL