Logo

व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै महासंघमा नेतृत्व परिवर्तनको दबाब, सोमबार बस्ने स्थायी समिति बैंठकले टुङ्गो लगाउँदै

व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै महासंघमा नेतृत्व परिवर्तनको दबाब, सोमबार बस्ने स्थायी समिति बैंठकले टुङ्गो लगाउँदै



काठमाडौं । कोरोना पछिको लकडाउनका कारण उद्योगी व्यवसायीलाई समस्या पर्दा नेतृत्वले काम गर्न नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघभित्र नेतृत्व परिवर्तनको विषयले चर्चा पाएको छ ।

महासंघको विधानत नयाँ नेतृत्व चयनका लागि २०७५ साल चैत २८ र २९ गते गर्नु पर्ने निर्वाचन कोरोना भाइरसका कारण पछि धकेलिएको थियो । तर सो अवधिमा देशभरका उद्योगी व्यवसायीहरु समस्या पर्दा पनि नेतृत्वले सरकारसँग वार्ता र सम्बादको माध्यमबाट समस्याको समाधान गर्न नसकेपछि तत्कालै नेतृत्व परिवर्तनको विषयले चर्चा पाएको हो ।

हाल महासंघका अध्यक्ष भवानी राणाले व्यवसायीक हकहितका लागि सरकारसँग सम्बाद र वार्ता गरेर समस्या सम्बोधन गनुभन्दा पनि सिमित व्यक्तिहरुको कोटरीमा रुमलिएर काम गर्न नसकेपछि तत्काल नेतृत्व परिवर्तको विषयमा दबाब आएको महासंघका एक केन्द्रिय सदस्यले जानकारी दिए । ‘महासंघको विधानत कार्यकाल सकिएको बढीमा ३ महिनासम्म उक्त कार्यसमितिले बैधानिकता पाउँछ,’ ती सदस्यले भने, ‘हालको कार्यसमितिले व्यवसायीक हकहितका लागि काम गर्न नसकेको र बैधानिकता पनि सकिन लागेकाले तत्कालै नेतृत्व परिवर्तन गर्न लागिएको हो ।’

यस अघि महासंघले उद्योगी व्यवसायीलाई समस्या पर्दा प्रधानमन्त्री तहबाटै वार्ता तथा छलफल गरेर आफ्ना समस्याको सम्बोधन गराउँदै आएपनि यसपटक समस्या राख्नका लागि मन्त्रीले समेत भेट नदिएपछि नेतृत्वले काम गर्न नसकेको भन्दै जिल्ला तथा नगरबाट चर्को विरोध सुरु भएको छ । विशेषगरी महासंघको अध्यक्ष वा वरिष्ठ उपाध्यक्षले सो विषयमा नेतृत्व गर्नुपर्ने भएपनि हालसम्म कुनै समस्या समाधान नभएपछि नेतृत्व नै परिवर्तन गरेर अघि बढ्न लागिएको ती सदस्यले जानकारी दिए ।

सोही विषयमा छलफल गर्न सोमबार महासंघको स्थायी समिति बैंठक बस्दैछ । उक्त बैंठकले नै तत्कालै विशेष परिस्थिती अनुसार नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाउने गरी तयारी थलिएको उक्त स्रोतले जानकारी दिएको छ । ‘यो विषम परिस्थितीमा सरकारसँग छलफल गरेर महासंघको नयाँ नेतृत्व चयनका लागि पहल गर्न सोमबार महासंघको स्थायी समिति बैंठक बस्दैछ,’ ती सदस्यले भने ।

पछिल्लो समय महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या सम्बोधनका लागि सरकारसँग लविङ गर्न नसकेपछि तत्काल नेतृत्व परिवर्तनको बाध्यता सिर्जना भएको महासंघका एक पूर्व अध्यक्षले जानकारी दिए । ‘हामी पूर्व अध्यक्षहरुले विषम परिस्थितीमा यहि नेतृत्वलाई अघि बढाएर उद्योगी व्यवसायीका समस्या समाधान हुन्छ भन्ने सोचेका थियौं,’ ती पूर्व अध्यक्षले भने, ‘अहिलेको नेतृत्व समग्र उद्योगी व्यवसायीको समस्या समाधानभन्दा पनि सिमित कोटरीमा मात्र रमाउन थालेपछि तत्काल नेतृत्व परिर्वतनको विकल्प देखिएन ।’

ती पूर्व अध्यक्षका अनुसार महासंघका अहिले त्रिपक्षीय लविङ सुरु भएको छ । ‘एउटा खेमा यहि संकटलाई देखाएर आफ्नो कार्यकाल लम्ब्याउन लागि परेको छ भने अर्को खेमा अहिलेको संकटमा नेतृत्व लिनबाट पन्छिरहेका छन्,’ ती पूर्व अध्यक्षले भने, ‘तर महासंघ भित्रको ठूलो खेमा भने असारभित्रै निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगर्ने हो भने यस अघि विधानले दिएको म्याण्डेड नै अबैधानिक हुने भन्दै तत्कालै नयाँ नेतृत्व चयनका पक्षमा देखिएका छन् ।’

यहि नेतृत्वलाई आगामी १ बर्षसम्मका लागि थप गर्नुपर्ने माग राख्नथालेपछि सोमबार बस्ने स्थायी समितिको बैंठकले तत्कालै मिति तय गर्न लागेको समेत उक्त स्रोतले जानकारी दिएको छ । यसअघि महासंघले सरकारले लकडाउन खुला गरेको १ महिनाभित्र चुनाव गर्ने निर्णय गरेको थियो । तर, लकडाउन लम्बिदै जाने र महासंघ नेतृत्वले पनि काम गर्न नसकेपछि तत्कालै मिति तय गर्नुपर्ने पक्षले महासंघका बहुमत सदस्यहरु देखिएका छन् ।

लकडाउनका कारण हजारौं साना तथा मझौला उद्योगी व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् भने लाखौं श्रमिकले रोजगारी गुमाउने अवस्था आएको छ । यस्तो अवस्थामा पनि उद्योगी व्यवसायका लागि राहत प्याकेज, श्रमिकका लागि रोजगारीको ग्यारेन्टी तथा श्रमिकलाई दिनुपर्ने तलबको विषयमा समेत कुनै सम्बोधन हुन सकेको छैन । उद्योगी व्यवसायीका समस्या समाधानकै लागि पनि हालको नेतृत्व परिवर्तनको जरुरी रहेको ती पूर्व अध्यक्षले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL