Logo

नेपाली सेनाको आँकलन : कोरोना संक्रमणबाट नेपालमा एक महिनाभित्र २ हजार संक्रमित, १ सयको मृत्यु

नेपाली सेनाको आँकलन : कोरोना संक्रमणबाट नेपालमा एक महिनाभित्र २ हजार संक्रमित, १ सयको मृत्यु



काठमाडौं । नेपाली सेनाले नेपालमा कोरोना संक्रमणबाट एक महिनाभित्र २ हजारमा संक्रमण र १ सयको मृत्यु हुन सक्ने आँकलन गरेको छ । कोरोना संक्रमणको विश्लेषण गर्ने संयन्त्र नै बनाएको नेपाली सेनाले अबको १ महिनामा संक्रमण चरम हुने बताएको छ ।

laxmi

सेनाको अध्ययन रिपोर्टका अनुसार एक महिनाभित्रै संक्रमितको संख्या २ हजार हाराहारीमा पुग्ने आँकलन रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् ।

नेपाली सेनाले कोरोना संक्रमणको अवस्थाबारे आफ्नो विश्लेषण र तयारी थालेको बताएको छ । सरकारले सेना परिचालनको निर्णय नगरिसकेको भएपनि दैनिक ९ सय हाराहारीमा पेट्रोलिङको काम भईरहेको र संक्रमण बढेको र अन्य निकायहरुले काम गर्न जटिल अवस्था सिर्जना हुँदा सेना परिचालित हुनेगरी तयारी समेत गरेको छ ।

सेनाले चीन र भारतको संक्रमणलाई आधार बनाएर र नेपालमा संक्रमणको अवस्थामाथि निगरानि सहित एक महिनामा २ हजारमा संक्रमण हुने र बढीमा १ सयको मृत्यु हुनसक्ने विश्लेषण गरेको हो ।

तयरी स्वरुप नेपाली सेनाले हेडक्वाटरबाट सुरु गरेको तालिम अहिले पृतना र गणहरुमा दिईरहेको छ । पाण्डेका अनुसार कोरोनामा काम गर्ने जनशक्ति अहिले सेनासँग १५ हजारको हाराहारीमा छ । यो शक्तिको संख्या अझै बढाउने काममा लागिरहेको छ ।

सेनासँग हाल ३० बेडको आइसियु र एकसय बढी आइसोलेशन बेड तयारी अवस्थामा छ । सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ।

आवश्यकता अनुसार आकस्मिक अवस्थामा खाली ठाउँमा उपचार गर्नका पनि सेनाले रेक्कि गरेको छ र धेरै मानिसहरु संक्रमण भए त्यस्ता स्थानहरुमा अस्थायी अस्पताल बनाई उपचारको प्रवन्धका लागी समेत तयारी गरेको छ ।

विदेशबाट नेपाल फकाईन लागेको नागरिकहरु राख्ने क्वारेन्टिनमा पनि सेनाको आफ्नै तयारी छ । क्वारेन्टिन व्यवस्थापनमा पनि सेनाले तयारी गरेको प्रवक्ता पाण्डेले बताएका छन् ।नेपाली सेनाले ०७२ को भुकम्पको बेलामा पनि अग्रणी नेतृत्व गरेको थियो । भुकम्पको उद्दार तथा राहतमा उदरणिय काम गरेको नेपाली सेनामाथि जनसमुदायको विश्वास समेत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL