Logo

विदेशमा लकडाउनको मारमा नेपाली कामदार, तत्काल पाँच लाख ३४ हजार कामदार नेपाल फर्कने तयारीमा

विदेशमा लकडाउनको मारमा नेपाली कामदार, तत्काल पाँच लाख ३४ हजार कामदार नेपाल फर्कने तयारीमा



काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण विभिन्न गन्तब्य मुलुकमा परेको प्रभावका कारण लाखौं नेपाली कामदार समस्यामा परेका छन् । पछिल्लो समय कोरोनाको प्रभावका कारण वैदेशिक रोजगारीमा रहेका एक लाख २७ हजार कामदार तत्काल नेपाल फर्कन आतुर रहेको जनाएको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतार, यूएई, साउदी अरब, मलेसिया, कुबेत, ओमान र बहराइनमा कार्यरत लाखौं कामादार समस्मा परेको र लकडाउन खुल्ने प्रतिक्षा गर्न सक्ने अवस्थामा नरहेको बोर्डले जनाएको छ ।

यस्तै ४ लाख ७ हजार कामदार लकडाउन खुलेलगत्तै नेपाल आउन चाहेको बोर्डले जनाएको छ । इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन(आईओएएम)का अनुसार २३ लाख ६५ हजार ८ सय ७५ जना नेपाली विभिन्न प्रयोजनका लागि हाल विदेशमा रहेका छन् । यसमा वर्किङ भिसामा जानेको संख्या भने समावेश छैन। आईओएमको तथ्यांकअनुसार करिब १५ लाख नेपाली भिजिट भिसामा विदेश रहेका छन् ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विभिन्न देशमा रहेका कुटनीतिक नियोगबाट प्राप्त तथ्यांकअनुसार नेपाल फर्कन चाहने कामदारको प्रारम्भिक सुची तयार भएको जानकारी दिएका छन् ।

संसदको उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संरक्षण समितीको बुधबार बसेको बैठकमा श्रेष्ठले उक्त तथ्यांक प्रस्तुत गर्दै उनिहरुलाई उद्धार गर्नेबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुझावसहितको प्रतिवेदन पेश गरिसकिएको जानकारी दिए। श्रेष्ठले भने, ‘हामीले तथ्यांक प्रस्तुत गरेका छौँ। यो प्रारम्भिक मात्र भएकाले स्वदेश फर्कन चाहनेको संख्या अझ बढ्न सक्छ।’

विभिन्न देशमा रहेका नेपाली कामदारहरुले स्वदेश फर्कन पाउनपर्ने माग राख्दै त्यहाँ रहेका नेपाली कुटनीतिक नियोगमा धर्ना दिन सुरु गरेका छन्। चैत ११ गतेदेखि नेपालमा सुरु भएको लकडाउनयता विदेशमा नेपालीलाई समेत आउन प्रतिबन्ध लगाइएको छ । सर्वोच्च अदालतले अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन वा त्यहाँ खानेबस्ने र औषधी उपचारको व्यवस्था गर्न सरकारलाई आदेश दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL