Logo

बिदेशमा हुने नेपालीलाई तत्काल ल्याउन सकिदैन, समस्या परे राहतका लागि दूतावासमा सम्पर्क गर्नु : परराष्ट्र मन्त्रालय

बिदेशमा हुने नेपालीलाई तत्काल ल्याउन सकिदैन, समस्या परे राहतका लागि दूतावासमा सम्पर्क गर्नु : परराष्ट्र मन्त्रालय



काठमाडौं । नेपाल सरकारले विदेशमा रहेको नेपालीलाई तत्काल नेपाल नल्याउने भएको छ । बिश्वभर फैलिएको कोरोना भाईरस संक्रमणका कारण प्रभावित भएका विभिन्न देशमा रहेका नेपालीलाई नेपाल ल्याउन सरकारले अहिलेसम्म कुनै कदम अगाडि बढाएको छैन । सरकारले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन असम्भव रहेको भन्दै जो जहाँ रहेका छन सोही स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

laxmi

परराष्ट्र मन्त्रालयका सुचना अधिकारी सुरेश अधिकारीले तत्कालै नेपाल ल्याउने कुनै योजना नरहेको जानकारी दिए । बिदेशमा हुने नेपालीलाई ल्याउन विश्लेषण भईरहेको तर, अहिलेनै ल्याउनका लागि भने सरकारले कुनै गृहकार्य नगरेको अधिकारीले बताए । सरकारले चीनको वुहानबाट नेपालीहरु नेपाल ल्याएपछि अन्य मुलुकबाट भने नेपाली फिर्ता गरेको छैन् । मन्त्रालयका अनुसार तत्कालीन समयमा चीनको वुहानमा मात्रै कोरोना फैलिएकाले नेपालीको उद्दार गरिएको थियो ।

तर, पछिल्लो समयमा विश्वभर फैलिँदै गएपछि कुनै पनि मुलुकबाट नेपाली नल्याएको मन्त्रालयको भनाई छ । बिशेष गरि खाडीमुलुकमा रहेका हजारौं कामदार सम्झौता सकिएको तथा कम्पनीले बेतलबी बिदा दिएको, निष्काशनमा परेका जस्ता कारणले नेपाल फर्कने प्रतिक्षामा बसेका छन् । काम छोडेर कम्पनीमै रहँदा नेपालमा आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइएसँगै उनीहरु उतै बस्न बाध्य छन । दुबईको एउटै कम्पनीबाट नेपाल फर्कने लिष्टमा ७० जनाको नाम आए पनि नेपालमा लकडाउनका कारण उनीहरु कम्पनीमै रहेको उदास पाख्रिनले जानकारी दिए ।

कम्पनीले बस्न मात्रै दिने र खाना नदिने भएपछि आफुहरु समस्या परेको भन्दै आफुहरुलाई स्वदेश फर्काउनु पर्ने पाख्रिनले बताए । तर, सरकारले भने त्यस्ता कामदारहरुलाई तत्काल ल्याउने कुनै निर्णय गरेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई राहतको ब्यवस्था गरेको भए पनि ति नेपाली कामदारहरुले भने अहिलेसम्म राहात नपाएको गुनासो गरेका छन । अधिकारीले भने त्यस्ता ब्यक्ति जो छन् उनीहरुले राहतको लागि राजदूतावासमा सम्पर्क गर्नुपर्ने बताए ।

अहिले बिभिन्न मुलुकमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि बिभिन्न राहत वितरण गर्दै आएको र जो जसले राहत पाएका छैनन् तिनिहरुले राजदूतावासमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतलेसमेत आफनो नागरिकलाई स्वदेश फर्काउने तयारी थालेको अवस्थामा नेपालले भने कुनै चासो नदिएको भन्दै कतारमा रहेका दिलकुमार घिसिङले आक्रोस ब्यक्त गरे । उनले भने, ‘हामी यहाँ मर्नुन बाँच्नु भएर बसेका छौं, बाहिर निस्कन दिँदैनन के खाएर बाँच्ने काम गरौं कम्पनीले दिँदैन ।

चैत १५ गते नेपाल आउने तयारीमा थिए तर, लकडाउनले गर्दा यतै बस्न बाध्य भए’, उनले भने । तर, सरकारले भने बैदेशिक रोजगारीमा गएका, अध्ययनका लागि गएका वा घुम्न गएका नेपालीहरुलाई जो जहाँ छन त्यही बस्न आग्रह गर्दै राहत वितरण गरिरहेको जनाएको छ । जसका लागि सरकारले थप बजेट उपलब्ध गराएर काम गरिरहको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL