Logo

चीनका लागि नेपाली राजदूतमा पाण्डेको नाम अनुमोदन, समितिमा परेको थिएन कुनै उजुरी

चीनका लागि नेपाली राजदूतमा पाण्डेको नाम अनुमोदन, समितिमा परेको थिएन कुनै उजुरी



काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले पाण्डेको नाम अनुमोदन गरेको हो ।

laxmi

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनको ठाउँमा मन्त्रिपरिषद्ले पाण्डेको नाम सिफरिस गरेको थियो ।

आज भएको सुनुवाइपछि राजदूतमा पाण्डेलाई अनुमोदन गर्ने निर्णय भएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए। समितिले सुनुवाइका लागि पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो। उनीविरुद्ध कुनै पनि उजुरी नपरेको र आज सुनुवाइपछि अनुमोदन गर्ने सर्वसम्मत निर्णय भएको सभापति कर्णले बताए।

पाण्डेले सुनुवाइका क्रममा नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए। फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो।

संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो। पाण्डेविरुद्ध आइतबारसम्म संसदीय सुनुवाइ समिति सचिवायलयमा कुनै पनि उजुरी परेन। समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाएको हो।

संसदीय समितिबाट नाम अनुमोदित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नेछिन्। सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरिएको थियो।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएको नेपालमा पनि त्यसको त्रास बढिरहेका बेला पाण्डेलाई राजदूतका रूपमा चीन पठाउन थालिएको हो। चीनले कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि समन्वय गर्न पाण्डेलाई छिटो चीन पठाउने सरकारको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
MBL