Logo

यही आर्थिक वर्षभित्र जनकपुर-जयनगर रेल सञ्चालन हुने, मन्त्री नेम्वाङले गरे अवलोकन

यही आर्थिक वर्षभित्र जनकपुर-जयनगर रेल सञ्चालन हुने, मन्त्री नेम्वाङले गरे अवलोकन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताएका छन् ।

laxmi

नेपाल रेल्वेको निरीक्षण गर्न शुक्रबार जनकपुरधाम आएका मन्त्री नेम्वाङले जसरी पनि आगामी तीन–चार महिनाभित्र रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री नेवाङले रेलको चालकदेखि करिब तीन सय प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र अब नीतिगत कुराहरु गर्न बाँकी रहेको बताए । जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङले दाबी गरे ।

उनले भने, “रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्नेछ ।” मन्त्री नेम्वाङका अनुसार रेल गुडाउन पाँच–सातजनाको प्राविधिक टोलीमात्र भारतबाट ल्याइनेछ । उनले यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोलीलाई फिर्ता गरिने बताए ।

यात्रुवाहक एक रेल तयारी अवस्थामा रहेको र अर्को बनिरहेको जानकारी गराउँदै मन्त्री नेम्वाङले आवश्यकताका आधारमा मालवाहक रेलसमेत सञ्चालनका लागि पहल हुने जानकारी दिए । नेपाल रेल्वेले गरेको कर्मचारी विज्ञापनको मापदण्डअनुसार एकजना पनि दक्ष जनशक्ति नेपालमा उपलब्ध नहुने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री नेम्वाङले नेपालमा उपलब्ध नभए विदेशबाट करारमा नियुक्त गर्ने बताए ।

मन्त्री नेम्वाङसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्रलगायतका समेत निरीक्षण टोलीमा सहभागी थिए । टोलीले रेल्वेको अवलोकनपछि जनकपुरधाम–जटहीसम्मको ६ लेन सडकको समेत निरीक्षण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL