Logo

महासंघमा माथिल्लो निकायको निर्देशन भन्दै चुनाव सार्न चलखेल, गृह सचिव भन्छन्–कुनै छलफल र निर्देशन भएको छैन

महासंघमा माथिल्लो निकायको निर्देशन भन्दै चुनाव सार्न चलखेल, गृह सचिव भन्छन्–कुनै छलफल र निर्देशन भएको छैन



काठमाडौं । कोरोना भाइरसको त्रास देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको मिति पछि धकेल्न छलखेल सुरु भएको छ । यसैहप्ता महासंघका अध्यक्ष भवानी राणाले महासंघको निर्वाचनको मिति सार्न माथिल्लो निकायको दवाव र निर्देशन आएको बताएसँगै चलखेल सुरु भएको हो ।

महासंघ अध्यक्ष राणाले निर्वाचनको मिति सार्न माथिल्लो निकायको निर्देशन आएको बताएपनि हालसम्म सरकारी निकायले सो विषयमा छलफल समेत नभएको बताएको छ । यस अघि सरकारले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि पूर्व सतर्कता अपनाउन होली नखेल्न तथा भीडभाड र सभासम्मेलन नगर्न आग्रह गरेको थियो । तर महासंघको आसन्न निर्वाचन रोक्ने सम्बन्धमा हालसम्म कुनै छलफल तथा निर्देशन नदिएको गृह सचिव महेश्वर न्यौपालने बिजखबरलाई बताए ।

‘हामीले महासंघको निर्वाचन रोक्ने विषयमा न कुनै छलफल गरेका छौं न कुनै निर्देशन दिएका छौं,’ उनले भने, ‘अहिले हामीले जनतासमक्ष पूर्व सावधानी अपनाउन आग्रह मात्र गरेका हौं तर महासंघको आसन्न निर्वाचन रोक्ने सम्बन्धमा अहिले कुनै छदफल तथा निर्देशन भएको छैन ।’

महासंघको निर्वाचन १ महिना पछि भएको र अहिले नै सो सम्बन्धमा कुनै छलफल तथा निर्देशन दिन नपर्ने समेत उनले बताए । ‘अहिलेसम्म नेपालमा कोरोना भाइरसनै आएको छैन यसैलाई आधार बनाएर महासंघको निर्वाचन रोक्नका लागि निर्देशन दिनुपर्ने कुनै जरुरी छैन,’ उनले भने, ‘पछि कोरोनाको प्रकोप नेपालमा पनि फैलिएर बढी असर गर्न थालेमा त्यसैबेला के गर्ने भन्ने विषयमा सोच्न सकिन्छ ।’

महासंघ सचिवालयले चैत २८ र २९ गते साधारणसभा गर्नका लागि सूचना समेत प्रकाशित गरिसकेको छ । साथै सोही निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसारका लागि चुनावी मैदानमा होमिएका छन् । यस्तो अवस्थामा आएर माथीको निर्देशन भन्दै अनावश्यक हल्ला फैलाएर चुनावी मिति पछि सार्न खोज्नु गलत काम भएको महासंघ सम्बद्ध व्यवसायीहरुको भनाई रहेको छ ।

महासंघको चैत्र २८ र २९ गते साधारणसभा गर्ने नियमित प्रक्रिया र तिथि नै भइसकेको र यस्तो अवस्थामा अनावश्यक हल्ला फैलाएर चुनावी मिति पछि सार्न खोज्नु महासंघ इतिहासमै गलत काम हुने महासंघ सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

अहिले महासंघका अधिकांश कार्यसमिति सदस्य तथा पदाधिकारीहरु तोकिएकै मितिमा चुनाव हुनुपर्ने पक्षमा रहेका छन् । तर, चुवानी मिति नजिकिँदै जाँदा चुनाव आफ्नो पक्षमा नआउने सम्भावना बढेपछि उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका उम्मेदवारहरुले नै त्यस्तो हल्ला फैलाएको हुन सक्ने महासंघका एक कार्यसमिति सदस्यले जानकारी दिए ।

आसन्न निर्वाचनलाई लिएर यहि फागनु ३० गते महासंघ पदाधिकारी बैंठक बस्दैछ । उक्त बैंठकमा उपस्थित हुने मध्ये ९० प्रतिशत पदाधिकारी तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको समेत महासंघ स्रोतले जानकारी दिएको छ । महासंघको अहिलेको अधिकांश कार्यसमिति सदस्य तथा पदाधिकारीहरु तोकिएकै मितिमा चुनाव हुनुपर्ने पक्षमा रहेकाले एक दुई जनाले हल्ला फैलाउँदैमा चुनवी मिति नसर्ने समेत महासंघ उच्च स्रोतको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL