Logo

रोजगारदाताको दक्षिण एशियाली मञ्चको बैठक काठमाडौंमा, अध्यक्ष चयनदेखि भावीकार्यक्रममा छलफल हुने

रोजगारदाताको दक्षिण एशियाली मञ्चको बैठक काठमाडौंमा, अध्यक्ष चयनदेखि भावीकार्यक्रममा छलफल हुने



काठमाडौं । रोजगारदाताहरूको दक्षिण एशियाली मञ्च (सेफ)को नवौं बैठक आजदेखि काठमाडौंमा सुरू भएको छ । काठमाडौंको चन्द्रागिरी रिसोर्टमा सुरू भएको उक्त मञ्चको बैठकमा नेपाल सहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंकालगायतका रोजगारदाता संगठनहरू, अन्तराष्ट्रिय श्रम संगठनको नेपाल र दिल्ली कार्यालय र नेदरल्याण्ड रोजगारदाता सहयोग कार्यक्रमका पदाधिकारीहरूको सहभागिता रहेको छ । बैठक नेपाल उद्योग वाणिज्य महासंघ, आईएलओ र डीइसीपीको सहयोगमा आयोजना भएको हो ।

बैठकलाई संवोधन गर्दै महासंघको रोजगारदाता परिषद सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सेफको नवौं बैंठक नेपालमा आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरेका छन । उपाध्यक्ष ढकालले आर्थिक एवं सामाजिक जीवनस्तरमा समेत समान अवस्था रहेको दक्षिण एशियाली क्षेत्रलाई आगामी दिनमा आर्थिक विकास, लगानी आकार्षणका हिसावले मुख्य गन्तव्यको रूपमा विकास गर्न संयुक्त सहकार्यमा जोड दिदै निजी क्षेत्रले यसको नेतृत्व लिनुपर्ने बताएका छन ।

रोजगारदाता परिषद्का सभापति ढकालले सेफजस्तो मञ्चबाट यस क्षेत्रका रोजगारदाता संगठनहरूले अनुभव र आफ्नो देशमा संचालन गरिरहेका कार्यक्रमबाट लाभ लिनुका साथै यस क्षेत्रका देशले भोग्नु परिरहेका साझा समस्याको समाधान निकाल्न मदत पुग्ने विश्वास व्यक्त गरेका छन । बैठकमा रोजगारदाता परिषद्का सहसभापति भरत आचार्य, महासंघका महानिर्देशक धरणीधर खतिवडा, आइएलओ नेपालका देशिय निर्देशक रिचार्ड हवार्ड, राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्मा, आइएलओ दिल्लीका रविन्द्र पेरिसलगायतको सहभागिता रहेको छ ।

बैठकमा गएको एक वर्षमा सेफले गरेका महत्वपूर्ण कार्यक्रम, राष्ट्रिय तथा क्षेत्रीय रूपमा श्रम रोजगारदाता सम्बन्धी नीति निर्माणमा रोजगारदाता संगठनहरूको भूमिका, सेफको आगामी अध्यक्ष चयन, रोजगारदाता संगठनहरूको गतिविधि, आइएलओ र डीईसीपीबीचको सहकार्य एवं भावी योजना तथा सेफको आगामी बैठक विषयमा छलफल तथा निर्णय हुनेछ ।

सोही समारोहमा आइएलओ नेपाल कार्यालय, ग्लोवल आइएमई बैंक र महिला उद्यमी महासंघ नेपाल बीच नेपालमा महिला उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौता समेत भएको छ ।

महासंघ सचिवालयमा दीगो विकासका लागि व्यापार इकाई स्थापना

नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्रमा दीगो विकासका लागि व्यापार इकाईको स्थापना गरिएको छ । दीगो विकासका लागि व्यापार इकाई नाम दिएको उक्त इकाई स्थापनामा अन्तरराष्ट्रिय व्यापार केन्द्रले सहयोग गरेको छ ।

इकाईको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अन्तरराष्ट्रिय व्यापार केन्द्रका निमित्त कार्यकारि निर्देशक डोरोथी टेम्वोले आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन ।

कृषि उद्यम केन्द्रले जेनेभास्थित अन्तरराष्ट्रिय व्यापार केन्द्रको सहयोगमा नवस्थापित इकाईमार्फत नेपालमा कृषि क्षेत्रको विकासमा देखापरेका प्रमुख अवरोधहरूको पहिचानका साथै त्यसको समाधान, वातावरणमैत्री व्यवसायिक रणनीति विकास र अन्तरराष्ट्रिय बजारसम्म नेपाली उत्पादनको पहुंच विस्तारमा कार्य गर्ने छ ।

यसका साथै प्रमुख निर्यातयोग्य वस्तुहरू चिया, कफी र औषधिजन्य वनस्पतीको अन्तरराष्ट्रिय बजार प्रवद्र्धनमा इकाईमार्फत काम गर्नेछ । जस्ले गर्दा नेपालको बाह्य व्यापार विस्तार तथा लगानी आकर्षणमा सघाउ पुग्ने महासंघको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL