Logo

ललितपुरमा ललित अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, चैत २६ देखि ३० सम्म मेला आयोजना हुने

ललितपुरमा ललित अन्तरराष्ट्रिय व्यापार मेला हुँदै, चैत २६ देखि ३० सम्म मेला आयोजना हुने



काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघ र इन्ट्रडक्सन ट्रेड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आगामी चैत २६ देखि ३० गतेसम्म हुने भएको छ । ललितपुरको स्थानीय उत्पादनलाई विश्वका विभिन्न मुलुकबीच प्रचारप्रसार गर्न पुल्चोकस्थित मदन स्मारक विद्यालयको प्राङ्गणमा मेला हुनेछ ।

संघमा आबद्ध व्यवसायीको उद्यमशीलता विकास, व्यवसाय गर्ने क्रममा भोग्नु परिरहेको अवरोध हटाउन र नीतिगत समस्या पैरवी गर्न तथा ललितपुरमा उत्पादित सामग्रीको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बजार विस्तार एवं व्यवसायीको ‘एक्सपोजर’ क्षमता बढाउन मेलाले सहयोग गर्ने संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।

नेपालका ८० तथा भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलगायत देशका ४० कक्ष रहने मेलामा नेपालमा उत्पादित ७० र विदेशी मुलुकमा उत्पादित ३० प्रतिशत सामग्री रहनेछन् । नेपालमा उत्पादित हस्तकलाका विभिन्न सामग्री, सांस्कृतिक झाँकी, व्यवसायीबीच आपसी अध्ययन तथा ज्ञानसीपको आदानप्रदानबाट पर्यटन र व्यवसायको विकासमा टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष महर्जनले बताए ।

प्रधानप्रति श्रद्धाञ्जलि

ललितपुरका उद्योगी तथा व्यापारीले ललितपुर उद्योग वाणिज्य सङ्घका तेस्रा अध्यक्ष केशवलाल प्रधानप्रति श्रद्धाञ्जलि दिएका छन् । पाटनका सफल उद्यमी प्रधान संघको २०४० सालदेखि २०४२ सालसम्म तेस्रो अध्यक्षका रुपमा कार्यरत थिए । प्रधानले संघको कार्यसमिति सदस्यमा २०३८ सालदेखि २०४० सालसम्म काम गरेका थिए ।

प्रत्येक नागरिक शिक्षित हुनुपर्छ भन्ने धारणा राखेका प्रधान २००९ सालमा स्थापना भएको प्रभात माध्यमिक विद्यालयको संस्थापक सदस्यसमेत रहेका थिए । संघका पूर्वअध्यक्ष प्रधानको निधन ८५ वर्षका उमेरमा यही फागुन १ गते दिन भएको थियो ।

संघका अध्यक्ष महर्जनले सङ्घभित्र सानादेखि ठूला काम अघि बढाउन उनको अविस्मरणीय योगदान रहेको बताए। संघका पूर्वअध्यक्ष नरेशकुमार श्रेष्ठले प्रधान एकदमै मिलनसार, शान्त र दुःखसुख बुझ्ने व्यक्ति रहेको भन्दै प्रशंसा गरे । संघका उपाध्यक्ष भरतलाल प्रधानले ललितपुरको आर्थिक विकासमा प्रधानको गम्भीर चिन्तन रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL