Logo

अर्थमन्त्री खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण, कर्मचारीलाई निर्देशन

अर्थमन्त्री खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण, कर्मचारीलाई निर्देशन



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका अर्थमन्त्री डा युवराज खतिवडाले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै खतिवडाले सञ्चार मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई आफ्ना् काम इमान्दारितापूर्वक गर्न निर्देशन दिएका थिए ।

खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरे । अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए ।

उनले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता औँल्याए । मन्त्री डा खतिवडाले भने ‘सञ्चारसम्बन्धी केही विधेयक निर्माण प्रक्रियामै छन्, त्यसलाई छलफल गरेर मात्र ल्याइनेछ, सङ्घीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक छ ।’ उनले आम नागरिकप्रति मर्यादित र उत्तरदायी हुँदै सत्यतथ्य समाचार मात्र प्रकाशन÷प्रसारण गर्न पनि सञ्चारमाध्यमलाई अपिल गरे ।

‘सुसूचित हुन पाउने जनताको अधिकारलाई सुनिश्चित राख्नुपर्छ र त्यसलाई प्रर्वद्धन गर्नुपर्ने सञ्चारमाध्यमको भूमिका हुन्छ । समृद्धिका लागि नागरिक उत्पादक हुनुपर्छ । उत्पादक र सबलीकृत नागरिक बनाउन प्रविधिमा पहुँच महत्वपूर्ण हुन्छ, सूचना प्रविधिका माध्यमबाट राज्यका अङ्गलाई पारदर्शी बनाउनुपर्ने हुन्छ’, उनले भने। मुलुकमा व्याप्त गरिबीको अन्त्य गर्दै समृद्धि र समतामूलक समाज निर्माण गर्नु सरकारको मुख्य विषय भएको उनको भनाइ छ ।

गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएलगत्तै गत विहिबार राजीनामा दिएका थिए ।

मन्त्री बाँस्कोटाले राजीनामा दिएपछि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री डा खतिवडालाई सञ्चार मन्त्रालयको समेत कार्यभार तोकेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
MBL