Logo

हेटौंडा-धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार, फागुन दोस्रो हप्ताभित्रै टेण्डर

हेटौंडा-धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार, फागुन दोस्रो हप्ताभित्रै टेण्डर



काठमाडौं । बागमती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौंडा-धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस सञ्चालन गर्न लागेको हो ।

laxmi

प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जानकारी दिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतिय बसको सञ्चालनले प्रदेशलाई समृद्ध बनाउने बताए । उनका अनुसार प्रदेश सरकारले यस्ता गौरवका योजना छिटै सम्पन्न गरेर समृद्ध प्रदेश निर्माण गर्नेछ । उनले सरकारले दुई वर्षभित्र समृद्धितर्फ जाने गौरवका योजनाको डिपिआर बनिसकेको र अबका वर्षमा तीव्रताका साथ निर्माण गरिने बताए ।

विसं २०७७ भित्र प्रदेशमा विद्युतिय बस सञ्चालन गर्न सरकारले प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा भौतिक योजना मन्त्रालयअन्तरगत विद्युतीय सवारी साधन सरसफाइ सामग्री खरिद सहजीकरण समिति बनाएर कामलाई तीव्रता दिएको छ । प्रदेश सरकारले फागुन दोस्रो हप्ताभित्र बिजुली बस खरिदका लागि ग्लोबल टेन्डर गर्ने तयारी भइरहेको संयोजक निरौलाले जानकारी दिएका छन ।

उनका अनुसार मन्त्रालयलाई प्रतिवेदन बुझाउने बित्तिकै विद्युतिय बस खरिद गर्न ग्लोबल टेन्डर निस्किने छ । प्रदेश मन्त्रिपरिषद्ले दुई महिनाअघि प्रदेश यातायात निगम गठन सम्बन्धमा संघीय सरकारलाई अनुरोध गरिसकेको उनले बताए । निरौलाका अनुसार संघीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेशसभामा पेश हुनेछ । बिजुली बस हेटौँडा–नारायणगढ–काठमाडौँ हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

समितिले यही फागुन ६ गतेसम्म प्रदेशको भौतिक योजना मन्त्रालयलाई विद्युतिय बस सञ्चालनसम्बन्धी प्रतिवेदन दिने संयोजक निरौलाले बताएका छन । प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेशनलगायतका विषय समेटिने र समितिअन्तरगत दुईवटा उपसमिति गठन गर्दै बिजुली बस सम्बन्धमा छलफल भइरहेको उनको भनाइ छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL