Logo

मध्यपहाडी राजमार्गको ६० प्रतिशत काम सम्पन्न, चालु आवभित्रै ४ सय ३५ किमी सडक कालोपत्र हुने

मध्यपहाडी राजमार्गको ६० प्रतिशत काम सम्पन्न, चालु आवभित्रै ४ सय ३५ किमी सडक कालोपत्र हुने



काठमाडौं । निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्गको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । उक्त राजमार्गको ४ सय ३५ किलोमिटर सडकको काम १५ औं पञ्चबर्षीय योजनाभित्र सम्पन्न गर्ने तयारीमा रहेको सडक बिभागका प्रवक्ता शिबहरि सापकोटाले जानकारी दिएका छन । उनका अनुसार कालोपत्र भईसकेपछि मात्रै सम्पूर्ण कामको नतिजा देखिने भएकाले तत्काललाई ६० प्रतिशत काम भए पनि बाहिरी रुपमा भने उल्लेख्य काम नदेखिएको हो ।

तर कालोपत्र गर्नु अगावै गर्ने अन्य कामहरु भने ६० प्रतिशत भएको उनले बताए । हाल सो क्षेत्रमा पर्खाल लगाउने, ग्राभेल गर्ने, बेल्स हाल्ने, कल्भर्ट बनाउनेलगायतका कामहरु भईरहेको प्रवक्ता सापकोटाले जानकारी दिए । ‘सरकारले उक्त राजमार्गमा पर्ने ४ सय ३५ किलोमिटर सडक कालोपत्रे गर्न चालु आर्थिक बर्षको लागि १२ अर्ब २० करोड रुपैयाँ बजेटसमेत बिनियोजन गरेको छ’ सापकोटाले भने ।

१२ अर्ब २० करोड रुपैयाँ बजेट बिनियोजन भए पनि आर्थिक प्रगति भने २० प्रतिशत मात्रै भएको बिभागले जानकारी दिएको छ । ‘हाल बिल भुक्तानीको क्रममा रहेकाले तत्कालै आर्थिक प्रगति नभएको हो । सो राजमार्गको ४ सय ३५ किलोमिटर सडक कालोपत्रे चालु आव भत्रै सक्ने लक्ष्यका साथ कामलाई तिब्र बनाएको छ’, विभागले जानकारी दिएको छ ।

अन्य पूर्वधारको काम सम्पन्न गरेर मात्रै कालोपत्रे गर्ने भएकाले पूर्वाधारको तयारीमा लागेको बिभागले जानकारी दिएको छ । ‘जसका लागि हाम्रा कर्मचारीहरु खटेर काम गरिरहेको छ’, सापकोटाले भने,- ‘हामीले सो राजमार्गको चालु आवभित्रै कालोपत्रे गर्ने गरि ५ भागमा बिभाजन गरेर काम गरेका छौं । हामी यही बर्ष भित्रै ति काम सम्पन्न गर्ने छौं ।’

त्यस्तै पूर्व पश्चिम राजमार्गसँग सबै प्रदेशको राजधानी जोड्ने सडकलाई सम्भाव्यताको आधारमा ४ लेनको बनाउने सरकारको योजना रहे पनि सो काम भने यसै बर्ष नहुने भएको छ । बिभागका अनुसार उक्त राजमार्गलाई ४ लेनको बनाउन हाल अर्थमन्त्रालयसँग बजेटलगायतको विषयमा छलफल भएकाले तत्काल काम नहुने भएको हो ।

सरकारले भने सो राजमार्गलाई ४ लेनको बनाई कोहोलपुर–सुर्खेत राजमार्ग र सिद्धार्थ राजमार्गलाई स्तरोन्नती गर्न २ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, बिभागले भने सो रकम हाल बिभागसँग नभएको र सोको लागि अन्यन्त्रबाट रकमान्तर गर्नुपर्ने भएकाले अर्थसँग छलफल चलिरहेको जानकारी दिएको छ ।

साथै उक्त राजमार्गको विस्तार तथा स्तरोन्नतिको लागि अन्य कुनै काम नभए पनि सम्भाब्यता अध्ययनको काम भने चालु आवभित्रै गर्ने लक्ष्य रहेको प्रवक्ता सापकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL