Logo

टुरिष्ट बस एशोसिएशन (टिवान)को अध्यक्षमा शर्मा, पर्यटकीय बसपार्क निर्माण मुख्य चुनौती

टुरिष्ट बस एशोसिएशन (टिवान)को अध्यक्षमा शर्मा, पर्यटकीय बसपार्क निर्माण मुख्य चुनौती



काठमाडौं । टुरिष्ट बस एशोसिएशन अफ नेपाल(टिवान) को अध्यक्षमा ईश्वर शर्मा निर्वाचित हुनुभएको छ । एशोसिएशनको शुक्रबार साँझ सम्पन्न नवौँ साधारणसभाबाट शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

एशोसिएशनको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्धितीय उपाध्यक्षमा सुशील दाहाल, महासचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा सुजन आचार्य तथा सदस्यमा चिरञ्जीवी रेग्मी र अशोक अर्याल निर्वाचित भएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । प्रवक्ता तामाङले टुरिष्ट बसले आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवालाई चुस्त, दुरुस्त बनाउन आग्रह गरे ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले पर्यटकीय क्षेत्रको सुधारका लागि स्थानीय सरकार पर्यटन व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए । ‘पर्यटक बसपार्क निर्माणका लागि महानगरपालिका सकारात्मक छ’, उनले भने । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकीय बसले गुणस्तरीय यातायात सेवा दिन खेलेको भूमिका सराहनीय भएको बताए । पर्यटकीय बसपार्क निर्माणमा बोर्डको सहयोग रहने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL