Logo

राजस्व सचिवसँग व्यवसायीको गुनासो : सरकारकै कारण हामी टाट पल्टिदैं छौं

राजस्व सचिवसँग व्यवसायीको गुनासो : सरकारकै कारण हामी टाट पल्टिदैं छौं



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा मंगलबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । ६८ औं अन्तरराष्ट्रिय भन्सार दिवशको आयोजनामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रम भने अन्तरक्रिया भन्दा पनि व्यवसायीका गुनासा सुनाउने कार्यक्रम जस्तो बन्यो ।

अर्थमन्त्रालय अन्तरगत राजस्व सचिव शिशिर ढुङ्गानाका अगाडि व्यवसायीहरुले पालैपालो आफ्ना क्षेत्रका गुनासा पोखे । जसका सबैको गुनासो सरकारप्रति नै थियो । व्यवसायीहरुको मुख्य सम्बन्ध हुने अर्थमन्त्रालय भएकाले पनि व्यवसायीले ढुङ्गानाका अगाडि समस्या र गुनासो प्रस्तुत गर्ने अवसर उपयोग गरे ।

कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका निजी क्षेत्र ईमान्दार भएको तर सरकारले विश्वास नगरेको गुनासो गरे । यस्तै महासंघकी अध्यक्ष भवानी राणाले भने सरकारले सबै सुधारका विषयहरु एकै चोटी व्यवसायीलाई लादेपछि अप्ठ्यारो सिर्जना भएको बताईन । उनले सरकारले भन्सारप्रणालीमा बस्तुको मूल्याङ्कन, बर्गिकरण र भन्सार कार्यालयका हाकिमको माईन्डसेटमा परिवर्तन गर्नुपर्ने बताइन ।

कार्यक्रममा नेपाल चलचित्र बोर्डका अध्यक्ष आकाश अधिकारीले चलचित्र हलका लागि आवश्यक सामग्रीमा सरकारले पहिला दिँदै आएको राजस्व छुट दिन बन्द गरेको गुनासो गरे । उनले उक्त राजस्व छुटको विषय पुनः लागु गरिनुपर्ने बताए ।

यस्तै कार्यक्रममा नेपाल दाना उद्योग संघका अध्यक्षले भने दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमासमेत धेरै भन्सार लिने गरिएको गुनासो व्यक्त गरे । उनले नेपालमा दाना उत्पादनका लागि आवश्यक मकै कम उत्पादन हुने र बाँकी भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । यस्तै उनले नेपालमै मासु उत्पादन पर्यात्प हुने भएपछि पनि भारत लगायतका देशबाट विभिन्न नाका हँुदै मासु भित्रिएकोप्रति आपत्ति जनाए ।

यस्तै नाडा अटोमोबाईल एशोसिएसनका महासचिव सुनिल रिजालले भन्सार कार्यालयमा व्यवसायीलाई अपराधीको जस्तो व्यवहार गरिने गरेको गुनासो व्यक्त गरे । उनका अनुसार बाहिर त्यो समस्या समाधान भएको जस्तो देखिएपनि भन्सार कार्यालयमा भने व्यवसायीलाई गरिने व्यवहारमा परिवर्तन भएको छैन ।

नेपाल कपडा उद्योगी संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले सरकारले कपडा उद्योगीलाई टाट पल्टाउन खोजेको आरोप लगाएका छन । गत आर्थिक बर्षको बजेटमार्फत सरकारले व्यवसायीलाई दिने भ्याट फिर्ताको सुविधा कटौती गरेकोप्रति उनले आक्रोश व्यक्त गरे ।

कार्यक्रममा आएका प्रतिक्रियाको जवाफ दिँदै राजस्व सचिव ढुङ्गानाले व्यवसायीका समस्या समाधान गर्नतिर सरकार लागिपरेको बताए । उनले व्यवसायीको सहजीकरणका लागि सरकारले विभिन्न कामहरु गरिहेको बताए । कपडा उद्योगीको समस्याको जवाफ दिँदै उनले व्यवसायीले पुरानै भ्याट फिर्ताको नियम भने पुनस्र्थापना गर्न नसकिने बताए ।

‘तपाईँलाई विभिन्न सुविधाहरु भ्याटफिर्ताको सट्टा दिईएकै छ, अझै दिन सक्छौं,’ उनले भने, ‘तर भ्याट फिर्ताकै सुविधा चाहिन्छ भनेर आउनुभयो भने यो हुनसक्दैन ।’ उनले व्यवसायीलाई भन्सार कार्यालयमा गरिने व्यवहारको खण्डन गर्दै त्यस्तो केही परे भन्सार महानिर्देशकलाई फोन गर्नसमेत आग्रह गरे । ‘भन्सार कार्यालयहरुमा त्यस्तो केही परे भन्सार महानिर्देशकलाई सीधै फोन गर्नुस,’ उनले भने, ‘उहाँ २४ घण्टा तपाईँको सेवामा समर्पित हुनुहुन्छ ।’

यस्तै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने भन्सारमा आएका समस्या समाधान गर्नेतीर आफु लागिपरेको बताए । ‘भन्सारमा व्यवसायीप्रति हुने व्यवहारको समाधानका लागि हामीले बेलाबेलामा काम गर्दै आएका छौं,’ उनले भने, ‘अझै भएको छैन भने पनि यसलाई सुुधार गर्ने पक्षमा हामीहरु छौं ।’ कार्यक्रममा विभिन्न क्षेत्रका ५० भन्दा बढी उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL