Logo

प्रशासनले हटायो घरटहरा, तामाकोशी आर्क ब्रिजको काम आजैदेखि अघि बढने

प्रशासनले हटायो घरटहरा, तामाकोशी आर्क ब्रिजको काम आजैदेखि अघि बढने



काठमाडौं । लामो समयदेखि रोकिएको तामाकोशीमा निर्माणाधीन आर्क ब्रिज(पुल)को काम आजैबाट अघि बढ्ने भएको छ ।

जिल्ला प्रशासन कार्यलयले बल प्रयोग गर्ने बताएपछि घरटहरा हटाउन आलटाल गर्दै आएका स्थानीयले शुक्रबारदेखि घरटहरा खाली गरेका छन् । योसँगै अब आजैदेखि पुलको निर्माणको काम अघि बढने पुल निर्माणको काम गरिरहेको निलगिरी नेशनल जेभीले जानकारी दिएको छ ।

३ बर्ष भन्दा बढी समय सकिँदा समेत स्थानीयको निरन्तरको अवरोधले दोलखाको तामाकोशीमा निर्माणाधीन आर्क ब्रिजको निर्माण सुस्त भएको थियो । तर, बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रमुख भीमकान्त शर्माले स्थानीयले अवरोध गरिरहे बल प्रयोग गर्ने चेतावनी दिएका थिए ।

बिहीबार दिएको उक्त चेतावनी पछि स्थानीयले आफ्नो घरजग्गा खाली गराएको शर्माले जानकारी दिए । उक्त क्षेत्र सार्वजनिक जग्गा भए पनि ब्यापारीक प्रयोजनका लागि स्थानीयहरुले घरटहरा बनाएर बसेका थिए ।

उक्त पुल निर्माण थालेको ३ वर्षमा २० प्रतिशतमात्रै निर्माणको काम सकिएको छ । लामोसाँघु–जिरी सडक खण्डको तामाकोशी नदीको पुल पुरानो भएको भन्दै सडक बिभाग अन्तरगत पुल महाशाखाले नयाँ निर्माणको लागि निलगिरी नेशनल जेभीसँग २०७३ भदौ ६ गते सम्झौता गरेको थियो ।

९ करोड रुपैयाँ लागतमा निर्माणाधीन उक्त पुलको काम अबको एक बर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण ब्यवसायी युवराज डाँगीले बताए । यस अघि ७५ मिटर लामो उक्त पुल निर्माण गरिरहेका निलगिरी जेभीले भने स्थानीयले घर टहरा नहटाएको भन्दै काम रोकेका थिए ।

उक्त पुल दायाँ क्षेत्रमा भने फाउण्डेशन (जग हाल्ने) काम सकिसकेको छ । तर बायाँ क्षेत्रमा भने स्थानीयले घर खाली नगरेका कारण अझैसम्म कुनै काम हुन सकेको थिएन । तर प्रशासनको चेतावनीसँगै आईतबारदेखि घरटहरा भत्काउन सुरु गरेको निर्माण ब्यवसायी डाँगीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL