Logo

मन्त्री भट्टद्धारा पेट्रोलियम आयात निजी क्षेत्रलाई नदिने र निगमलाई निजीकरण पनि नगर्ने स्पष्ट

मन्त्री भट्टद्धारा पेट्रोलियम आयात निजी क्षेत्रलाई नदिने र निगमलाई निजीकरण पनि नगर्ने स्पष्ट



काठमाडौं । नेपाल आयल निगम स्थापनाको ५० वर्ष पुगेको छ । निगमको स्वर्णजयन्तीको शनिबार उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै पनि हालतमा पेट्रोलियम आयात निजी क्षेत्रलाई सुम्पन नसक्ने बताए । पेट्रोलिमय पदार्थको कारोबार राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै उनले निगमलाई निजीकरण गर्ने विषय सोच्न पनि नसकिने बताए ।

उनले भने, ‘निगम निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ, पेट्रोलियम कारोबारमा निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई हामीले बाटो खोलिदिनुपर्छ ।’ पेट्रोलियम पदार्थको बिकल्पका रुपमा विद्युतीय शक्तिलाई लिइएको भन्दै उनले निगमलाई अन्य क्षेत्रमा लगानी गर्न आग्रह गरे । ‘निगमले अब जलविद्युत् क्षेत्रमा पनि लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ’, उनले भने ।

निगमलाई सफल बनाउन सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिँदै उनले इमान्दारितापूर्वक निगम सुधारको बाटोमा काम गर्न आग्रह गरे। निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा बैकुण्ठ अर्यालले कार्यक्षमता सुधारमा ध्यान दिन निगम व्यवस्थापनलाई आग्रह गरे । ‘निगमको छवि सुधार्न लागत, समय र व्यवस्थापनमा कार्यक्षमता बढाउनुपर्छ’, उनले भने ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले पछिल्लो समय निगमको कामकारबाहीप्रति जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै प्रणालीलाई विश्वसनीय बनाउन सुझाव दिए । ‘अब पेट्रोलियम क्षेत्रमा बन्द हड्ताल हुँदैन, तर ग्यास उद्योगीको खर्च समायोजनमा भने निगमले ध्यान दिनुपर्छ’, उनले भने।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहराले व्यवसायीले चर्को लागत व्यहोर्दै ‘ट्याङ्कर लकिङ प्रणाली’मा निगमलाई सहयोग गरेको बताए । पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन सुझाव दिँदै उनले निगमको ५० वर्षे इतिहासमा ५० दिनको माग धान्न नसक्ने अवस्था देखिनु दुःखद् भएको बताए । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले सरोकारवालासँग छलफल गरेर नीति निर्माण गर्न सुझाव दिए ।

सो अवसरमा निगम सञ्चालक समितिका अध्यक्ष डा अर्यालले स्वर्णजयन्तीको अवसरमा निगमका सम्पूर्ण कर्मचारीलाई प्रोत्साहनस्वरुप एक महिनाको पारिश्रमिक दिइने घोषणा गरेका थिए ।

कार्यक्रममा निगमको स्वर्णजयन्तीको अवसर पारेर आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगितामा बिजेता हुने खेलाडीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै निगमको श्रीवृद्धिमा योगदान पुर्याउने कर्मचारीलाई पनि सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL