Logo

देशैभर १० ओटा सुरुङमार्ग बनाउने सडक बिभागको तयारी, १ खर्ब रुपैयाँ लगानी लाग्ने अनुमान

देशैभर १० ओटा सुरुङमार्ग बनाउने सडक बिभागको तयारी, १ खर्ब रुपैयाँ लगानी लाग्ने अनुमान



काठमाडौं । सडक बिभागले देशका विभिन्न स्थानमा १० ओटा सुरुङमार्ग बनाउने भएको छ । विभागले सडक यातायातलाई सहज, दूरी कम गर्न तथा अति दुर्घटना हुने स्थानलाई पहिचान गरी बिभिन्न १० स्थानमा सुरुङमार्ग निर्माण गर्न लागेको हो ।

laxmi

सुरुङमार्ग निर्माणका लागि बिगत ३ बर्षदेखि विभागले अध्ययनको काम तीब्र बनाएको र हाल पूर्व सम्भाब्यता अध्ययन तथा केही आयोजनाको डिजाइनलगायतका काम अघि बढेको विभागले जानकारी दिएको छ । अहिले विभागले तय गरेका १० मध्ये विभागको अगुवाईमा बुटवलको सिद्धार्थ हाईवेमा निर्माण गर्न लागेको सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक डिजाइन तयार भएको र यो सुरुङमार्ग निर्माणको चरणमा रहेको विभागले जानकारी दिएको छ । यो सुरुङमार्ग १ दशमलब १२६ किलोमिटरको हुने छ ।

बिभागको उत्तरदक्षिण ब्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक तथा सहसचिव शिव नेपालले भने सबै काम सम्पन्न भए पनि आयोजना कहिले सुरु गर्ने भन्ने विषयमा कुनै टुङ्गो लाग्न नसकेको बताए । उनका अनुसार अर्थ मन्त्रालयबाट रकम विनियोजन गर्न मन्त्रीपरिषदबाट स्वीकृति पाए पनि हालसम्म बजेट विनियोजन नहुँदा उक्त आयोजनाको काम अघि बढ्न नसकेको हो । उनले भने, ‘सायद अब अर्थमन्त्रालयबाट बजेट रकमानन्तर गरी यही बर्ष आयोजना अघि बढ्ने छ, ।’

बिभागले निर्माण गर्न लागेको सिद्धबाबा सुरुङमार्गको आधारभुत डिजाईन स्वीस विकास बैंकले तयार गरेका हुन । उक्त सुरुङमार्गको वातवरणीय प्रभाव मूल्यांकनको काम समेत सम्पन्न भईसकेको छ । त्यस्तै थानकोट चित्लाङ सुरुङमार्गको भने आधारभुत डिजाईनको काम स्वीस बिकास बैंकले गरिरहेको छ । यद्यपी यस आयोजनाको सुरुङमार्गको दुरी भने तय भईसकेको छैन ।

त्यस्तै टोखा–गुर्जा सुरुङमार्गको भने चिनियाँ सरकारले पूर्व सम्भाब्यता अध्ययन गरेको भएपनि थप काम भने अघि बढ्न नसकेको आयोजना निर्देशक नेपालले जानकारी दिए । सो मार्गका लागि ३ दशमलब ५५ र ५ दशमलब २० किलोमिटरको सुरुङमार्ग बनाउन सकिने गरी चिनियाँ सरकारले अध्ययन गरेको विभागले जानकारी दिएको छ ।

यस्तै खुर्कोट–सिन्धुली सुरुङमार्ग, लामाबगर सडक सुरुङमार्ग, दाउन्ने खण्ड सडक सुरुङमार्ग, हेम्जा–नयाँपुल सडक सुरुङमार्ग, कुलेखानी–भिमफेदी सुरुङमार्ग गरि ५ ओटा सुरुङमार्गको भने पूर्व सम्भाब्यता अध्ययन भन्दा अन्य कुनै पनि काम अघि बढ्न सकेको छैन । यी ५ आयोजनाको सुरुङमार्गको कुल लम्बाई भने २२ दशमलब ३८३ देखि २३ दशमलब ७०५ किलोमिटर हुने अध्ययनले देखाएको छ ।

अहिले यी आयोजनाहरुको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) को लागि काम भईरहेको बिभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त अध्ययनको लागि ३ देखी ४ बर्षसम्म समय लाग्ने छ । त्यस्तै कुटिया सुरुङमार्ग दिपायल–कैलाली र गोदावरी कुण्ड–काभ्रे सुरुङमार्गको भने पूर्व सम्भाब्यताको काम हुनुपर्नेमा अहिल सम्म नभएको विभागले जानकारी दिएको छ ।

सुरुङमार्ग निर्माणको लागि एक किलोमिटर बराबर करिब साढे २ देखि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बिभागका निर्देशक नेपालले बिजखबरलाई जानकारी दिए । यसरी एक किलोमिटर सुरुङमार्गको लागत ३ अर्ब रुपैयाँ मात्रै राख्ने हो भने पनि सरकारले यी १० सुरङमार्गका लागि ८२ अर्ब ७४ करोड ९० लाख रुपैयाँदेखि ८४ अर्ब ८४ करोड ३० लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । तर, यसमा ३ आयाुजनाको भने दूरी अझै निश्चित नभएको र यी आयोजनाको निर्माणकार्य कहिलेदेखि सुरु गर्ने निश्चित नभएको बिभागका निर्देशक नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL