Logo

नेपाल आर्थिक संघको अध्यक्षमा पुन : प्याकुरेल, सातै प्रदेशमा वित्तीय संघियतामा कार्यक्रम संचालन

नेपाल आर्थिक संघको अध्यक्षमा पुन : प्याकुरेल, सातै प्रदेशमा वित्तीय संघियतामा कार्यक्रम संचालन



काठमाडौं । नेपाल आर्थिक संघको २९ औं वार्षिक साधारण सभाले प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालले आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक काम गर्दै आईरहेको छ । संघले सरकारलाई बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको छ । नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यहरुको भेलाले प्राध्यापक डा. प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन गरेको हो ।

डा. प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने बनाउने बताएका छन । अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने उनको भनाई रहेको छ । उनले भने, ‘संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमा देखि कार्यान्वयन सम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिने छ ।’

संघका महासचिव गोपाल तिवारीले आगामी कार्यक्रमहरुमा देशका सातै प्रदेशमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघियता सम्बन्धी विषयहरुमा प्रदेशस्तरीय संवादहरु सञ्चालन गर्ने बताएका छन । सहभागिहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा संघको गतिविधिले विशेष महत्व राख्ने बताए । साथै नयाँ कार्य समितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका छन ।

संघको नवनिर्वाचित कार्य समितिमा प्रा.डा. प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्रा. डा. गोविन्द नेपाल उपाध्यक्ष, गोपाल प्रसाद तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्रा. डा. शान्ता सिंह कोषाध्यक्ष रहेका छन् । अन्य कार्यसमिति सदस्यहरुमा विजय श्रेष्ठ, केशवराज खड्का, केशव प्रसाद आचार्य, पोष राज पाण्डे, शिवराज अधिकारी, माधव प्रसाद दाहाल, मणि कुमार नेपाल, यादव मणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ रहेका छन् । साथै संघमा त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL