Logo

कुहिने र नकुहिने फोहर सङ्कलन फरक–फरक दिन, कुन दिन कुन फोहोर हेर्नुहोस

कुहिने र नकुहिने फोहर सङ्कलन फरक–फरक दिन, कुन दिन कुन फोहोर हेर्नुहोस



काठमाडौं । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहरको सङ्कलन कार्य फरक–फरक दिन शुरु गरेको छ । सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्दा समस्या भएको भन्दै कामपाले हप्ताको चार दिन कुहिने र तीन दिन नकुहिने फोहर सङ्कलन कार्य शुरु गरेको हो । बत्तीस वडा रहेको कामपाले पहिलो चरणमा वडा नं १२, १८ र २१ मा यो कार्य शुरु गरेको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतबार, मङ्गलबार, बिहीबार र शनिबार नकुहिने र सोमबार, बुधबार र शुक्रबार कुहिने फोहोर सङ्कलन कार्य भइरहेको छ । प्रमुख श्रेष्ठका अनुसार तोकिएको समयअनुसार फोहर सङ्कलन गर्ने सवारीसाधनले कुहिने र नकुहिने फोहर सङ्कलन गर्नेछन् । विभागले फोहरको सही सदुपयोग गर्न वर्गीकरण शुरु गरेको जनाएको छ ।

पहिलो केही वडामा काम शुरु गरेको भए पनि अन्य वडामा पनि यस किसिमको कार्यको थालनी गर्नका लागि अभ्यास भइरहेको श्रेष्ठले जानकारी दिए । अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारको अभाव, जनसङ्ख्या वृद्धि, जनचेतनाको अभावजस्ता कारणले कामपा क्षेत्रको फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहर सङ्कलन गर्न नयाँ व्यवस्था लागू गरिएको हो ।

कामपाले आगामी दुई महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने तयारी गरेको छ । अहिले उपत्यकामा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहरमैला उत्पादन बढी हुने गरेको छ ।

फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहरमैलाको परिमाण कम गर्न घर–घरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहर फरक किसिमले भाँडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहर सङ्कलन गरेको उनले बताए ।

यसरी सङ्कलन गरिएको जैविक र अजैविक फोहर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनःप्रयोग गर्ने गरी कामपाले यस किसिमको विधि अपनाएको हो । हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक एक हजार ४५ टन फोहर सङ्कलन हुने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL