Logo

लगानी बोर्डले सुल्झायो अरुण तेस्रोको मुआब्जा विवाद, आयोजना निर्माणको काम सुचारु

लगानी बोर्डले सुल्झायो अरुण तेस्रोको मुआब्जा विवाद, आयोजना निर्माणको काम सुचारु


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपछि निर्माण कार्य सञ्चालन भएको हो ।

स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच चाँडै विवाद समाधान गर्ने सहमति भएको हो । सहमतिपछि सडकअवरुद्ध र सुरुङ निर्माणको काम शनिबारदेखि सञ्चालन भएको हो ।

अरुण तेस्रोको काम करिब ३० प्रतिशत भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयले बिहीबारदेखि आन्दोलन शुरु गरेका थिए । विरोधमा उत्रिएका स्थानीयले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गराएका थिए । सुरुङ निर्माणको काम ठप्प भएपछि दुई हजार कामदार अलपत्र परेका थिए ।

अरुण तेस्रो निर्माण शुरु भएको तीन वर्ष बिते पनि छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिलेको छैन । यो सडक खण्डमा नेपाल सरकारले मुआब्जा निर्धारण गरेर सरकारी मूल्यअनुसार स्थानीयलाई रकम दिनुपर्छ । यस क्षेत्रका २०० परिवारले मुआब्जा पाएका छैनन् । छ्याङकुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडक खण्डमा मुआब्जा नपाएको स्थानीयवासी हर्कसिंह राइले बताए ।

पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयको भनाइ छ । तर ,अरुण तेस्रो निर्माणको जिम्मा पाएको भारतीय सतलज कम्पनीलाई भने ३० मिटर जग्गा आवश्यक नपर्ने जनाएको छ । १५ मिटरको सडकमा उपकरण ल्याएको सवारी साधन गुड्ने जनाएको छ । अरुण तेस्रोका लागि अहिले पनि १५ मिटरमात्रै सडक प्रयोग भइरहेको सतलजका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL