Logo

डेडिकेटेड लाईनको नाममा ब्रम्हलुट, भृकुटीमण्डपमा प्रतियुनिट ३३ रुपैयाँ उठाउँदै समाजकल्याण परिषद्

डेडिकेटेड लाईनको नाममा ब्रम्हलुट, भृकुटीमण्डपमा प्रतियुनिट ३३ रुपैयाँ उठाउँदै समाजकल्याण परिषद्



काठमाडौं । देशमा लोडसेडिङ हटेको ३ बर्ष भईसक्यो । तर, अझै पनि लोडसेडिङको नाममा जनताको ढाड सेक्ने काम भने बन्द भएको छैन् । सामान्यतया हामीले तिर्ने विद्युत महशुल ८ रुपैयाँदेखि १३ रुपैयाँसम्म मात्र हो ।

तर, प्राधिकरणले समाजकल्याण परिषदको काठमाडौंको मुटुमा रहेको भृकुटीमण्डपमा भने डेडिकेटेड फिडरलाईनको नाममा प्रति युनिट २७ रुपैयाँ बिजुली महसुल असुली गरिरहेको छ भने यसमा भृृकुटीमण्डप सञ्चालनको अधिकार पाएको समाज कल्याण परिषदले प्रतियुनिट थप ६ रुपैयाँ जोडेर रकम उठाउने गरेको छ । जसका कारण भृकुटीमण्पमा कार्यालय तथा व्यवसाय चलाइरहेकाहरु वर्षौदेखि प्रतियुनिट ३३ रुपैयाँ बिजुली महसुल तिर्न बाध्य छन् । भृकुटीमण्डप भित्र हाल १५ सय हाराहारीमा होटल तथा खुद्रा व्यापारीहरु रहेका छन ।

भृकुटीमण्डप क्षेत्रमा विद्युत विस्तारदेखि मर्मतसम्म गरिरहेको परिषदका अनुसार प्राधिकरणले प्रतियुनिट २७ रुपैयाँ लिने गरेको छ भने परिषदले भने प्रति युनिट ३३ रुपैयाँ लिने गरेको छ । समाज कल्याण परिषद भृकुटीमण्डप सञ्चालन कार्यालयका सहायक निर्देशक लेखराज शाहका अनुसार प्राधिकरणलाई पटक–पटक मूल्य घटाउन पत्राचार गरेपनि हालसम्म कुनै सुनुवाई भएको छैन् ।

परिषदले जहिलेदेखि डेडिकेडेट लाईन विस्तार भयो त्यहिबेला देखिनै प्रति युनिट ३३ रुपैयाँ लिने गरेकोे बताउँछ । परिषदका अनुसार सिंहदरबार, भृकुटीमण्डपलगायतका क्षेत्रमा डेडिकेटेडलाईनको नाममा प्राधिकरणले प्रतियुनिट २७ रुपैयाँ महशुल लिने गरेको छ । ती अधिकारीले भने, ‘हामीले बारम्बार मूल्य समायोजन गर्न पत्राचार गरेका छौं । तर, अहिल सम्म कुनै सुनुवाई नभएपछि परिषदले निर्णय गरेर नै प्रति युनिट ३३ रुपैयाँ लिएको हो ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरणले साधारण मूल्य मात्रै लिने गरेको बताए । ‘हामीले ३३ रुपैयाँ लिएको छैन, अब परिषदले लिन्छ भने पैसा दिनुभएन नि,’ उनले भने, ‘परिषदले किन लियो त्यो थाहा भएन, उसलाई त्यति रकम लिने अधिकार कसले दियो ? अहिले हामीकहाँ उजुरी आएको छैन । उजुरी आए पछि हामी त्यही अनुसार जाने छौं ।’
तर नेपाल विद्युत प्राधिकरण अन्तरगतका रत्नपार्क वितरण केन्द्रका कार्यालयका प्रमुख प्रज्वलमान श्रेष्ठले भने डेडिकेटेड फिडरलाईन भए पनि २० रुपैयाँ भन्दा बढी महँगो नपर्ने बताए । श्रेष्ठले भने प्रति युनिट ३३ रुपैयाँ लिने भनेर कुनै निर्णय नभएको र हालसम्म परिषदबाट कुनै पत्रसमेत आफुहरुलाई नआएको बताए ।

भृकुटीमण्डपको लागि प्राधिकरणले एउटा ट्रान्सफरमर मात्रै दिएको र भित्र के–कस्तो काम गर्छ उक्त विषयमा प्राधिकरणलाई कुनै जानकारीसमेत नहुने उनले बताए । भृकुटीमण्डप भित्रै नीजि ट्रान्सफरमर अनुसार डिमान्ड चार्ज र युनिट चार्ज मात्रै प्राधिकरणले लिने गरेको श्रेष्ठले जानकारी दिए ।

सो क्षेत्रमा विगत ६ बर्ष देखि आफ्नो ब्यवसाय संचालन गर्दै आएका ब्यापारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘देशमा लोडसेडिङ हटेको ३ बर्ष भईसक्यो, अझै हामीलाई भने डेडिकेटेड लाईनको नाममा प्रति युनिट ३३ रुपैयाँ लिईरहेको छ । यो सरासर जनतामाथिको अत्याचार हो । यसले हाम्रो ढाड सेक्ने काम भएको छ ।

भृकुटीमण्डपमै क्याफे चलाइरहेका व्यवसायीले विद्युत महसुलकै कारण भृकुटीमण्डप भित्रका होटल तथा क्याफेमा महँगो मेनु राख्न व्यवसायीहरु बाध्य भएको बताए । । ‘सरकारले हामीलाई ठगिरहेको छ,’ ती व्यापारीले भने, गर्मी मौसमा ग्राहक आएर पंखा चलाउनु भन्नुहुन्छ, यस्तो महंगो शुल्क तिरेरे कसरी चलाउनु ।’ फ्रिज चलाएबापत मात्रै महिनामा ८ हजार रुपैयाँ उठछ, यस्तो अवस्थामा हामीले कसरी धान्ने ?’ हामीलाई पनि मन हुन्छ गर्मीमा ग्राहकलाई शितलता दिन पंखा चलाउन, तर के गर्नु विद्युत शूल्क तिर्नेबेला साह्रै गाह्रो हुन्छ’, ती व्यवसायीले भने ।

समाजकल्याण परिषदले जतिसुकै अत्याचार गरेपनि व्यवसायीहरु मुख खोल्न डराउनु परेको बताउँछन् । ‘केही भन्यो भने परिषदले निकाल्ने धम्की दिन्छ, यहाँ यत्रो लगानी गरिएको छ । कसरी बोल्नु ?’ धेरैजसो व्यवसायीको भनाई यस्तै रहने गरेको छ । त्यसैले व्यवसायीहरु आफ्नो नाम नआवोस भन्नेमा सर्तक रहने गरेका छन् ।

यता नेपाल विद्युत प्राधिकरणले केही समय अघि गरेको पत्रकार सम्मेलनमा भाडावालसँग नियमभन्दा धेरै विद्युत शुल्क असुली गर्ने गरेको भन्दै भाडामा बस्नेसँग धेरै विद्युत महसुल नलिन चेतावनी दिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै भाडामा बस्नेसँग नियम विपरीत शुल्क लिए कारवाही गर्ने चेतावनी दिएका थिए । तर, भृकुटीमडपमा भइरहेको असुलीबारे भन्ने निर्देशक घिसिङ नै अनभिज्ञ रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL