Logo

नेपालमा वैदेशिक लगानीको १० बर्ष : साढे ३ खर्बको प्रतिबद्धता, भित्रियो ९१ अर्ब मात्र

नेपालमा वैदेशिक लगानीको १० बर्ष : साढे ३ खर्बको प्रतिबद्धता, भित्रियो ९१ अर्ब मात्र



काठमाडौं । पछिल्लो समय सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को निकै चर्चा गरिरहेको छ । जसका लागि सरकारले नेपाललाई समृद्ध बनाउन नेपालको विकासका लागि वैदेशिक लगानी भित्र्याउने आफ्नो प्रमुख उद्देश्य बनाएको छ । केही महिनाअघि सरकारले वैदेशिक लगानी भित्र्याउने उद्देश्यले ‘नेपाल इन्भेष्टमेन्ट समिट’ पनि आयोजना गरेको थियो ।

गत मार्च महिनामा सम्पन्न सम्मेलनमा ४० मुलुकका ७३५ भन्दा बढी विदेशी र ६०० स्वदेशी सहभागी थिए । जसले विभिन्न परियोजनामा खर्बौ रुपैयाँको लगानी प्रतिबद्धता जनाए । तर, पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा वैदेशिक लगानीको प्रतिवद्धता आए अनुरुप लगानी भित्रने क्रम भने न्यून रहेको छ । पछिल्लो १० बर्षमा नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता अनुरुप लगानी भित्रने क्रम भने बार्षिक रुपमा घट्दो छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६६/६७ यताको १० बर्षमा ३ खर्ब ६० अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । तर सोही अवधिमा नेपालमा वास्तविक वैदेशिक लगानी भने ९० अर्ब ९७ करोड रुपैयाँ मात्रै भित्रिएको छ । तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६६/६७ मा १३ अर्ब ९५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । तर सोही आवमा वास्तविक लगानी भने जम्मा १ अर्ब ८३ करोड रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

यस्तै पछिल्लो १० बर्षमध्ये आर्थिक बर्ष २०७४/७५ मा सबैभन्दा बढी वैदेशिक लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार उक्त आर्थिक बर्ष मात्रै १७ अर्ब ५१ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । तर यता उद्योग विभागको तथ्याङ्कलाई हेर्ने हो भने उक्त बर्ष ६१ अर्ब ३४ करोड रुपैयाँ बराबरको बैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

यस्तै पछिल्लो १० बर्षयताकै धेरै लगानी प्रतिवद्धता भने आव २०७१/७२ मा आएको थियो । उद्योग विभागका अनुसार उक्त आर्थिक बर्षभरि ८१ अर्ब ३७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । यस्तै आर्थिक बर्ष २०७४/७५ मा ६१ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी चालु आर्थिक बर्षको मंसिर १९ गतेसम्म भने २० अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । तर वास्तविक लगानी भने असोजसम्म ४ अर्ब बराबरको भित्रिएको छ । चालु आर्थिक बर्षको मंसिर २० गतेसम्म विभिन्न १ सय २३ ओटा उद्योगमार्फत उक्त लगानी प्रतिवद्धता आएको हो ।
उद्योग विभागका अनुसार पछिल्लो १० बर्षमा आएको वैदेशिक लगानी प्रतिवद्धतामार्फत मात्रै १ लाख २८ हजार ४ सय ७१ जनाले रोजगारी पाएका छन् । जसले नेपालमै रोजगारी सिर्जनाको मागलाई धान्ने गरेको र केही मात्रामा नेपाली कामदारलाई समेत रोजगार सिर्जना गरेको सम्बन्धित विज्ञहरु बताउँछन ।

सबैभन्दा धेरै लगानी चीनको

पछिल्लो १० बर्षमा चीनबाट अधिक मात्रामा वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६६/६७ यता चीनबाट मात्रै विभिन्न १ हजार ३ सय २२ परियोजनामार्फत १ खर्ब २९ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । यस्तै छिमेकी देश भारतले भने उक्त अवधिमा ३ सय ५४ उद्योगमार्फत १ खर्ब ४ अर्ब लगानी प्रतिवद्धता जाहेर गरेको छ । यस्तै नेपालमा धेरै लगानी प्रतिवद्धता जनाउने देशहरुमा हंगकंग, ब्रिटिस भर्जिन आईसल्याण्ड, अमेरिका, बेलायत क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा परेका छन । नेपालमा धेरै लगानी गर्नेमा दक्षिण कोरियाले भने पछिल्लो १० बर्षको अवधिमा नेपालमा २ सय ४५ उद्योगमार्फत ९ अर्ब ६१ करोड रुपैयाँ लगानी प्रतिवद्धता गर्दै सातौ स्थानमा परेको छ ।

उर्जा क्षेत्रमा लगानी प्रतिवद्धताको ओईरो

नेपालमा ठुला लगानीका उद्योगहरु धेरै खुलेपनि ठुलो लगानीको उद्योगमा पर्ने महत्वपुर्ण उद्योग नै उर्जा क्षेत्रका उद्योगहरु हुन । नेपालमा पछिल्लो १० बर्षको अवधिमा उर्जा क्षेत्रका उद्योगमा मात्रै १ खर्ब ६७ अर्ब बराबरको बैदेशिक लगानी प्रतिवद्धता आएको छ । विभिन्न क्षेत्रमार्फत १० बर्षका ७ खर्ब ७५ अर्ब वैदेशिक लगानी प्रतिवद्धतामध्ये उर्जा क्षेत्र एक्लैले करिव ५० प्रतिशत हिस्सा ओगटेको छ । वैदेशिक लगानी प्रतिवद्धतामा उछाल आएको अर्काे क्षेत्र भनेको उत्पादनमुलक क्षेत्र हो । उत्पादनमुलक क्षेत्रमा पछिल्लो १० बर्षमा विभिन्न ५ सय ४९ परियोजनामार्फत ७४ अर्ब बराबरको लगाानी प्रतिवद्धता आएको छ । यस्तै लगानी प्रतिवद्धताको आधारमा सेवा, पर्यटन, संचार तथा प्रविधि क्षेत्र भने क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा परेका छन ।

१७ खर्बको स्वदेशी लगानी प्रतिवद्धता

वैदेशिक लगानीमा वृद्धि भईरहँदा स्वदेशी लगानीमा समेत पछिल्लो दशक उत्तिकै मात्रामा उछाल आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६६/६७ यता १७ खर्ब २२ अर्ब ५९ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार पछिल्लो दशक स्वदेशी लगानीमा ठुलै मात्रामा उत्तारचढाव आएको देखिन्छ । कहिले स्वदेशी लगानीकर्ताको मनोबल खस्कने र कहिले लगानीमा आकर्षण बढ्ने हुँदा त्यसको प्रत्यक्ष असर लगानी प्रतिवद्धतामा पर्ने गरेको छ । स्वदेशी लगानी पछिल्लो दशकको कुनै आर्थिक बर्ष ह्वात्तै बढेको छ भने कुनै आर्थिक बर्ष लगानी सोही अनुसार घटेको पनि छ ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो दशकको आर्थिक बर्ष २०७४/७५ मा सबैभन्दा बढी ३ खर्ब ५० करोड रुपैयाँको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । तर आर्थिक बर्ष २०६८/६९ मा ८४ अर्बको लगानी प्रतिवद्धता आएको थियो । उक्त आबमा अघिल्लो आबको भन्दा ६ अर्बले लगानी घटेको थियो । आव २०६७/६८ मा भने ९० अर्ब बराबरको लगानी प्रतिवद्धता आएको थियो । यस्तै आर्थिक बर्ष २०७०/७१ मा २ खर्ब ८७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय स्वदेशी लगानी पनि उर्जा क्षेत्रमै आकर्षित भएको देखिन्छ । उद्योग विभागका अनुसार पछिल्लो १० बर्षमा उर्जा क्षेत्रमा मात्रै ११ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । यस्तै उत्पादनमुलक क्षेत्रमा भने ३ खर्ब २३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL