Logo

मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी, भित्र्यायो ६० करोड

मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी, भित्र्यायो ६० करोड



काठमाडौं । मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । गत बर्षको तुलनामा यस बर्ष १० प्रतिशतले स्याउ उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ । परियोजनाका अनुसार मुस्ताङका कृषकहरुले यस वर्ष स्याउबेचेरै ६० करोड रुपैयाँ भन्दा बढी रकम भित्र्र्याएका छन् ।

जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिएका छन । ‘जिल्लाभर १ हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ७ सय हेक्टरमा उत्पादन हुन्छ’, उनले भने, ‘कृषक र व्यापारीबाट संकलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ ।’

खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताए । उनका अनुसार गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य १२० रहे पनि अधिकांश कृषकले बगैँचा नै ठेक्कामा बिक्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ ।

म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौं, चितवन, धादिङलगायतका जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ । स्याउ बिक्रीबाट १ लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैँचामै आउने भएकाले बजारको समस्या नभएको बताए ।

उनीसँग ५० फल दिने र १ हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पुर्याउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा १० गुणा बढी आम्दानी हुने उनको भनाई रहेको छ । स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायतका परिकार बनाएर विदेशमा समेत निकासी हुनेगर्छ ।

बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेती गर्ने कम रहेका भए पनि किन्न आउने बढी भएकाले माग पुर्याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकालीले बताए । यस वर्ष उच्च घनत्व क्षमताको नयाँ जातका १९ हजार र रेड डेलिसियस जातका १३ हजार बिरुवाको माग आएको परियोजना कार्यान्वयन एकाइले जनाएको छ । ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने एकाइले जनाएको छ ।

परियोजनाले कृषकलाई अनुदानमा सिकेचर, नीलो तुथो, स्याउ टिप्ने औजार, सुकुटी बनाउने मेशिन उपलब्ध गराएको छ । एकाइका अनुसार एक शीत भण्डारगृह र हाइटेक प्रविधिको नर्सरी स्थापना गर्न लागिएको छ । स्थानीय तहले पनि अनुदानमा स्याउका बिरुवा र ढुवानीका लागि प्याक छपाएर वितरण गरेका छन् । मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL