Logo

करदातालाई सम्झाउँदै अर्थमन्त्रीले भने, ‘तपाईहरु अँध्यारोबाट उज्यालोतर्फ आउँदा आँखा तिरमिराएको मात्रै हो’

करदातालाई सम्झाउँदै अर्थमन्त्रीले भने, ‘तपाईहरु अँध्यारोबाट उज्यालोतर्फ आउँदा आँखा तिरमिराएको मात्रै हो’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई करको दर र दायरा बढ्नु कुनै नौलो नभएको बताएका छन । आईतबार आन्तरिक राजस्व विभागद्वारा आयोजित आठौं कर दिवसको अवसरमा बोल्दै उनले व्यवसायी तथा करदाताहरु आत्तिनुको औचित्य नभएको बताएका हुन ।

व्यवसायी तथा उद्योगीहरुले पछिल्लो समय करको दायरा र दर बढाएको भन्दै गुनासो गर्ने गरेको उनको भनाई थियो । तर वास्तविकतामा भने करनीति र करका अन्य विषयहरु पहिलेदेखि नै उस्तै रहेको उनको भनाई छ ।

‘हामीहरु लामो समय अँध्यारोमा बसेर बाहिर घाममा गयौँ भने एकछिन आँखा तिरमिराउँछ,’ उनले भने, ‘तर एकछिन पछि त्यो सबै ठिक हुन्छ र हाम्रो आँखाले त्यो घाम सहन सक्छ ।’

उनले व्यवसायमा लागु गरिएको प्यान, भिसिटिएस प्रणाली लगायतमा व्यवसायीहरुको बानी परिसकेको समेत स्पष्ट पारेका छन । कार्यक्रमका बोल्दै उनले देशलाई आर्थिक हिसावले उज्यालोतर्फ लैजान आफु सक्दो लागिपरेको जानकारी दिएका छन । हाल अर्थिक वृद्धिदर प्रक्षेपण गरे अनुसार नै भईरहेको सन्दर्भमा राजस्व वृद्धि पनि सोही भईरहेको उनको भनाई छ ।

कार्यक्रमका विभिन्न व्यवसायिक संघका पदाधिकारीहरुले राजस्व नीति सुधार आएपनि केही हदसम्म अझै सुधार गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले करको दायरा मात्रै बढाउनाले उपभोक्ता समेत चर्काे मारमा परेको जानकारी दिए । उनले कर तिर्नेलाई मात्रै बढी भार पर्ने खालको अर्थनीति रहेको जिकिर गरेका हुन ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारको राजस्व निति राम्रो भएको प्रतिक्रिया दिएका छन । उनले कार्यक्रमा बोल्दै विकासको कार्यमा सरकारलाई सक्दो सहयोग गर्न तत्पर रहेको बताएका छन ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले सरकारले कर तिर्नेलाई मात्रै धेरै भार दिन नहुने बताएका छन । कार्यक्रममा बोल्दै उनले सरकारले उद्योगी व्यवसायीलाई व्यवसायका लागि सहज वातावरण निर्माणमा सहयोग गर्नुपर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL