Logo

सुनको मूल्य बढेसँगै आत्तिए ग्राहक, सुनचाँदीको कारोबार ह्वात्तै घट्यो

सुनको मूल्य बढेसँगै आत्तिए ग्राहक, सुनचाँदीको कारोबार ह्वात्तै घट्यो



काठमाडौं । गत बर्ष भन्दा चालु बर्षमा सुनको व्यापार खस्केको छ । अघिल्ला बर्षहरुमा तीज, दशैं, तिहार लगायतका चाडबाडमा उच्च हुने सुनको व्यापार यो बर्ष भने खस्केको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत बर्ष दैनिक औषतमा ३० देखि ४० किलोग्राम सुनको व्यापार हुने गरेकोमा यो बर्ष भने घटेर २० देखि २१ किलोमा झरेको महासंघका अध्यक्ष मोहन सुनारले जानकारी दिए ।

पछिल्लो समय सुनको मूल्य अप्रत्याशित रुपमा आकाशिदा ग्राहकमा एकप्रकारको डर पैदा भएको उनको भनाई छ । ग्राहकमा डर पैदा भएकै कारण र यो बर्षको मंसिरमा पनि अघिल्ला बर्षको जस्तो विवाहका लगन नभएका कारण सुनको व्यापार ह्वात्तै घट्न सक्ने उनको भनाई छ ।

१ महिना अघि सुनको मूल्य एकाएक आकाशिदा करिव साढे ६ सय किलो सुन बैंकमा होल्ड भएको थियो । तर, पछिल्लो समय विस्तारै मूल्य घट्दै जाँदा बैंकबाट सुन रिलिज हुन थालेको छ ।

सुनको मूल्य बढेसँगै सुनको व्यापार केही हदसम्म मात्रै घटेको महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार विसं २०६९ साल यता यो बर्ष सुनको मूल्य अप्रत्यासित वृद्धि भएको हो । विसं २०६९ सालमा सुनको मूल्य एक्कासी बढेर सुन प्रतितोला ६३ हजार र चाँदी प्रतितोला १३ सय रुपैयाँसम्म पुगेको थियो ।

पछिल्लो समय तिहारको अवसरमा पर्ने धनतेरस पुजाका लागि भनेर सुन र चाँर्दी किन्ने चलन बढेको छ । करिव १० बर्षअघि मात्रै धनतेरस पुजाका लागि सुनचाँदी किन्ने चलन नेपालमा नभएपनि विस्तारै भारतीय प्रभावले धनतरेस पुजामा सुनचाँदी चढाउने चलन चलेको पूर्वअध्यक्ष शाक्यको भनाई छ ।

उनका अनुसार हाल धनतेरस पुजामा सुन भन्दा पनि चाँदीको माग उच्च हुने गरेको छ । यो बर्षको धनतेरस पुजाका लागि भन्दै दैनिक ७ देखि ८ सय किलो चाँदी व्यापार हुने गरेको उनले जानकारी दिए ।

यो बर्ष चाँदीको व्यापारमा उत्तारचढाव नआएपनि सुनको व्यापारमा भने उत्तारचढाव आएको छ । अघिल्ला बर्षहरुमा दैनिक ५० देखि ६० किलोको कारोबार हुने सुन केही दिन अघिसम्म मात्रै जम्मा २० किलो प्रतिदिनसम्म कारोबार हुने गरेको छ । यसलाई महिनाको रुपमा सरदर तुलना गर्दा प्रतिदिन १५ किलो सुनको कारोबार हुने गरेको छ । २०७२ सालमा आएको भुकम्प अघिको तुलना गर्ने हो भने हाल सुन प्रतिदिन कम्तिमा ४० किलो बराबरको कारोबार हुनुपर्ने महासंघका अध्यक्ष सुनारको भनाई छ । गत बर्ष दशैं र तिहारको बीचमा प्रतिदिन ६० किलोसम्म सुनको व्यापार हुनेगरेको थियो ।

बढ्दो मूल्य र लगनको पनि कमिका कारण यो सिजनलाई पुग्ने सुन मौज्दात रहेको महासंघले जानकारी दिएको छ । १ महिना अघि बैंकमा होल्ड भएको साढे ७ सय किलो सुनमध्ये साढे ५ सय किलो सुन रिलिज भईसकेकाले खपत अनुसार स्टकको समस्या नहुने महासंघका अध्यक्ष सुनारले बिजखबरलाई जानकारी दिए । उनका अनुसार अव बैंकमा १ सय किलोजती मात्रै सुन होल्ड भएर बसेको छ । जुन अप्ठ्यारो पर्नेवित्तिकै निकाल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL