Logo

१२ बुँदे घोषणा पत्रजारी गर्दै सकियो एनआरएनए सम्मेलन, जलविद्युत र पर्यटनमा भित्रियला लगानी

१२ बुँदे घोषणा पत्रजारी गर्दै सकियो एनआरएनए सम्मेलन, जलविद्युत र पर्यटनमा भित्रियला लगानी



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२ बुँदे घोषणा पत्र जारी गर्दै नवौं विश्व सम्मेलन सम्पन्न गरेको छ ।

laxmi

संघले ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा सहित नवौं विश्व सम्मेलन काठमाडौंमा यही शुक्रबार सम्पन्न गरेको छ । संघको नवौं विश्व सम्मेलनले कुमार पन्तलाई अध्यक्षमा निर्वाचित गराएको छ ।

साथै सो सम्मेलनले नेपालको जलविद्युत, पर्यटन, बैंकिङ, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधिलगायतका क्षेत्रहरूमा लगानी गर्ने गरी १२ बुँदे घोषण पत्रसमेत जारी गरेको छ ।

संघले घोषण गरेको १२ बुँदे घोषण पत्रः

१. यो सम्मेलन तीनै तह–संघीय, प्रादेशिक र स्थानीय सरकार) को निर्वाचन सम्पन्न भई मुलुकभित्र बलियो र स्थायी सरकार क्रियाशिल भएकोमा खुसी व्यक्त गर्दछ । संविधान कार्यान्वयन भई मुलुक राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख भएकोले सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीहरूमा हार्दिक आव्हान गर्दछ ।

२. सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीनवटा महत्त्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्वपूर्ण भूमिका र योगदान हुन सक्ने जनाउदै उपरोक्त लक्ष्यहरू पुरा गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

३. विश्वभरका गैरआवासीय नेपालीहरूबाट प्राप्त सहयोगमा भूकम्प प्रभावितहरूको लागि गोरखा जिल्ला, धार्चे गाउँपालिकाको लाप्राकमा निर्माणाधिन एकीकृत नमूना बस्ती परियोजना अन्तर्गत भूकम्प प्रभावितहरूको लागि ५७३ घर निर्माण कार्य सम्पन्न भई बसोवास हुन थालेको छ । यस परियोजनालाई पूर्णता दिन सहयोग गर्ने नेपाल सरकार, नेपाली सेना, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघरसंस्था, स्थानीय बासिन्दा तथा स्वयंसेवकबाट प्राप्त सहयोगका लागि यो सम्मेलन कृतज्ञता ज्ञापन गर्दछ ।

४. नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा हालसम्म भएको प्रगति समेतलाई मनन गरी यथाशीघ्र कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागिपर्न नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ ।

५. नेपालीहरूको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेशणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहदा वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्या्दित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघले नेपाल सरकारसँग सहकार्य गर्नेछ । कामदारहरूको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने तथा कामदारहरूको भावी सामाजिक सुरक्षाका लागि यस संघले यसअघि अगाडी बढाएको कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान) सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्नेछ ।

६. नेपाल सरकारले घोषणा गरेको नेपाल भमण वर्ष २०२० लाई सफल पार्न अतिथि देवो भवः लगायतका अभियानलाई शसक्त रुपमा लगिएको सर्वविदितै छ । अवको केही महिनापछि नै औपचारिक रूपमा सुरूवात हुने भ्रमण वर्षलाई भव्यरूपमा सफल बनाउन संघले विश्वभरि रहेको आफनो बलियो संजाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गर्दछ ।

७. विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । यसका निम्ति संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्नेछ ।

८. नेपालीहरू अत्यधिक संख्यामा रहेका मुलुकहरूमा नेपाल सरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघले नेपालीहरूलाई पुर्याई आएको सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछ ।

९. सरकारले अभियानको रुपमा अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न गैर आवासीय नेपाली संघले आफ्नो प्रतिवद्धता जाहेर गरिसकेको छ । यस क्रममा ठुला आयोजनामा नेपाल लगानी बोर्डसंग सहकार्य गरी सहजकर्ताको भुमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्ताहरूसंग समन्वय गराउने र सहजीकरण गरी स्वदेशमा बाहय लगानी, प्रविधि, शीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ताको भुमिका निर्वाह गर्नेछ ।

१०. बाह्य लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संवोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कुटनीतिक नियोग रहेका र धेरै नेपालीको वसोवास रहेका मुलुकहरुसंग अविलम्व दोहोरो कर उन्मुक्तिको संझौता, लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अविलम्व गर्न नेपाल सरकारसंग आव्हान गर्दै त्यसका लागि सहजकर्ताको भुमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।

११. गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रूपमा दर्ता भएको र अभियानले एक दशक पार गरिसकेको अवस्थामा संघको सँस्थागत संरचना सुधारमा महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गैरआवासीय नेपाली संघ र अभियान एक विशुद्ध गैरराजनैतिक चरित्रको भएकोले दलगत राजनीतिबाट टाढा राख्न नेपालका राजनैतिक दल र विदेशमा रहेका तीनका भातृसंगठनहरुलाई यो सम्मेलन आह्वान गर्दछ ।

१२. नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, संचारकर्मी तथा सम्पूर्ण सौजन्यकर्ता, सहयोगी संघरसंस्था र व्यक्तिहरूप्रति यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL