Logo

बढ्दै सम्बन्धविच्छेद, १ बर्षमा बागलुङमा मात्रै १९३ मुद्धा दर्ता

बढ्दै सम्बन्धविच्छेद, १ बर्षमा बागलुङमा मात्रै १९३ मुद्धा दर्ता



काठमाडौं । आर्थिक वर्ष ०७३/०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १ सय २७ मुद्दा दर्ता भए । आव ०७४/०७५ मा अघिल्लो बर्षभन्दा १२ मुद्दा बढे । गत आवमा भने मुद्दाको सङ्ख्या ह्वात्तै बढेर १ सय ९३ पुग्यो । यो आँकडाले जिल्लामा सम्बन्धविच्छदेका घटना बढ्दै गएको देखाउँछ ।

अदालतका अनुसार चालू आवमा पनि सम्बन्धविच्छेदका २२ वटा मुद्दा दर्ता भइसकेका छन् । गत वर्ष भदौ १ देखि नयाँ मुलुकी संहिता लागू भएसँगै सम्बन्धविच्छदेका मुद्दा दर्ता हुनेक्रम बढेको अदालतका स्रेस्तेदार भेषराज पौडेलले बताए ।

नयाँ कानूनले पुरुषलाई पनि सम्बन्धविच्छदेको मुद्दा दर्ता गर्न पाउने अधिकार दिएको छ । मुलुकी संहिता जारी भएकै वर्ष १ सय २ जना पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए । महिलाबाट भने जम्मा ९१ मुद्दा दर्ता भएका थिए ।

‘जिम्मेवारी सरी आएका ४८ मुद्दासहित गत आर्थिक वर्षमा कूल २ सय १८ मुद्दा थिए’, स्रेस्तेदार पौडेलले भने, ‘५० वटा मुद्दामा सम्बन्धविच्छेदको फैसला भएको छ, ४९ मुद्दा प्रक्रियामा छन, बाँकीमा मिलापत्र भएको छ ।’ ९१ मुद्दामा महिलाले र २८ वटा मुद्दामा पुरुषबाट मिलापत्र भएको छ । अदालतका अनुसार फछ्र्योट हुन बाँकी ४८ मुद्दाको चालू आवमा जिम्मेवारी सरेको छ । यो वर्ष दर्ता भएका नयाँ मुद्दामध्ये १० वटामा महिलाबाट मिलापत्र भएको छ । १२ वटा मुद्दा प्रक्रियामा रहेका छन् । चालू आवको हालसम्म महिलाले १७ र पुरुषबाट पाँच मुद्दा दर्ता भएका छन् ।

सम्बन्धविच्छदेका लागि महिला, पुरुष दुवैतर्फबाट मुद्दा दर्ता हुनेक्रम बढेको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए । ‘अदालतले सकभर सम्बन्धविच्छेद नहोस् भन्ने चाहन्छ, सम्बन्ध सुधार र मिलापत्रका लागि प्रयास हुन्छ’, उनले भने, ‘सँगै बस्नै नसक्ने अवस्थामा मात्र सम्बन्धविच्छेद हुने गरेको छ ।’

मुद्दा पर्नासाथ सम्बन्धविच्छेद गराउन नहुने कानूनी व्यवस्था रहेकाले एक वर्षसम्म मुद्दा चल्ने गरेको उनको भनाइ छ । नयाँ कानून आएपछि पुराना घटनामा पनि सम्बन्धविच्छेद माग्न आउनेको सङ्ख्या बढेको अदालतले जनाएको छ ।

कमाइ र सम्पत्तिको अधिकार तथा उपभोगको विषयमा हुने विवाद सम्बन्धविच्छेदको मुद्दासम्म आउने गरेको पाइएको न्यायाधीश न्यौपानेले बताए । ‘वैदेशिक रोजगारसँग जोडिएर आउने घटना बढी छन’, उनले भने, ‘कतिपयले सामान्य विवादमा पनि सम्बन्धविच्छेद रोज्छन् ।’

यसैबीच अदालतले गएको आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट भएको जनाएको छ । कूल ६ सय २४ मुद्दामध्ये ४ सय २८ फछ्र्योट गर्ने लक्ष्य लिइएकामा ४ सय ५३ मुद्दा फछ्र्योट भएका थिए । फछ्र्योट भइसकेका मुद्दामध्ये व्यक्तिवादी देवानी २ सय ९७, व्यक्तिवादी फौजदारी ६५, सरकारवादी फौजदारी ८६, पुनरावेदन देवानी एक र पुनरावेदन फौजदारी मुद्दा एक रहेको छ । कूल मुद्दामध्ये ७२ दशमलव ५९ प्रतिशत फछ्र्योट भएको र बाँकी १ सय ७१ मुद्दाको चालू आवमा जिम्मेवारी सरेको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL