Logo

सरकारी नीतिका कारण चिया निर्यात घट्यो, चिया किसानलाई दिन सकेन युरिया मल

सरकारी नीतिका कारण चिया निर्यात घट्यो, चिया किसानलाई दिन सकेन युरिया मल



काठमाडौं । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा १ दशमलब ५ प्रतिशतले घटेको तथ्याङकले देखाएको छ । विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको हो ।

देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४/७५ को भन्दा २०७५/७६ मा १ दशमलब ५ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्याङ्कअनुसार आव २०७४/७५ मा १ करोड ५६ लाख ८४ हजार ५ सय ४४ केजी चिया निर्यात भएकामा गत आव २०७५/७६ मा १ करोड ५० लाख ४३ हजार ७ सय ९६ केजी निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७ सय ४८ किलो चिया निकासी कम भएको देखिन्छ ।

सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुनेलगायत समस्या भएकाले चिया निकासी घटेको चिया उद्यमी उदय चापागाईंले जानकारी दिएका छन । ‘सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याएकाले पनि चियामा नैराश्यता बोध भएको हो’, उनले भने, ‘आन्तरिक खपत बढेकाले पनि निकासी घटेको हुन सक्छ । सरकारले प्राङ्गरिक चिया प्रवद्र्धन गर्न नसक्नु र चिया किसान–श्रमिकलाई प्रोत्साहित गर्न नसक्नाले पनि यो समस्या भोग्नुपरेको हो ।’

उनका अनुसार गुणस्तरीय चिया उत्पादन गरेमा बाहिरी खपत बढ्ने र आम्दानीसमेत बढ्ने देखिन्छ । नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसी उत्पादन हुने गरेको छ भने अर्थोडक्स २ हजार ६ सय ७० मेट्रिक टन, २२० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL