Logo

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा, सीसीटिभी मार्फत निगरानी गरिँदै

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा, सीसीटिभी मार्फत निगरानी गरिँदै



काठमाडौं । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८ सय २२ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिएका छन । ‘हतारोका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौँ’, उनले भने ।

महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ ।

कारवाही परेकामध्ये ४० हजार ६ सय १९ पुरुष र २ हजार २ सय ३ महिला रहेका छन् । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ५ सय रुपैयाँ जरिवाना र १ घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विसं २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो । महाशाखाले हालसम्म ३ लाख ८ हजार ५ सय ४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताए । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL