Logo

साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै, ६७ जना विरुद्ध मुद्दा दर्ता

साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै, ६७ जना विरुद्ध मुद्दा दर्ता



काठमाडौं । देशमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर पैसा लुट्ने ब्यक्तिको अस्तित्वमा आँच पुर्याउने जस्ता घटना बढेर गएको हो ।

laxmi

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी १ हजार ५ सय ७० उजुरी दर्ता भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा चिट्ठा पर्यो भनेर १ करोड रुपैयाँसम्म ठगी गरेको उजुरी महाशाखामा परेको जानकारी दिएका छन । उनले भने, ‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ ।’

महाशाखाका अनुसार युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १० देखि २० वर्ष उमेर समूहका २२ प्रतिशत, २० देखि ३० वर्ष उमेर समूहका ३९ दशमलव ९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९ दशमलव ९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका सात दशमलव ९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् ।

अपराध महाशाखाअन्तर्गत साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लीलाराज डाँगीले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको बताए ।

उनले भने, ‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ ।’ साइबर कानूनका बारेमा विद्यालय, उच्च विद्यालय तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ । साइबर अपराधको मुद्दामा ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ ।

महाशाखाले साइबर अपराधमा १ हजार ५ सय ७० उजुरी दर्ता भए पनि ६७ जनाविरुद्ध मात्रै मुद्दा चलाएको छ । जसमध्ये सामाजिक सञ्जालमार्फत ४२, ह्याकिङ गर्ने ८, जथाभावी एसएमएस गर्ने ९, युट्युबमा जे पायो त्यही पोष्ट गर्ने ३, नक्कली कम्पनी बनाएर अरूको आर्थिक खातामा जालसाजी गर्ने ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

यस्तै आव २०७३/०७४ मा १ हजार १९७ उजुरी दर्ता भएकामा २६ जनाविरुद्ध मुद्दा चलेको छ भने आव २०७४/०७५ मा १ हजार ४८२ उजुरी दर्ता भएकामा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जानकारी दिएको छ । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्दै आएको छ ।

विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई ५ वर्षसम्म जेल वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल प्रहरीले पछिंल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि केन्द्रीय साइबर ब्यूरो स्थापनासमेत गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष सक्रियतामा विसं २०७५ मा केन्द्रीय साइबर ब्यूरो स्थापना भएको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताए । साइबर ब्यूरो हाल भोटाहिटीबाट सञ्चालनमा आएको छ ।

स्रोत र साधनको अभावका कारण साइबर ब्यूरोले साइबर घटनाको बारेमा पूर्ण अनुसन्धान गर्न नसकेपनि केही घटनाको भने अनुसन्धान गर्दै आएको ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले जानकारी दिए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL