Logo

स्मार्ट लाईसेन्स छाप्न मास प्रिन्टर ल्याउने जिम्मा फेरी मद्रास सेक्युरिटीलाई नै, ४ महिना भित्र सबैलाई लाईसेन्स

स्मार्ट लाईसेन्स छाप्न मास प्रिन्टर ल्याउने जिम्मा फेरी मद्रास सेक्युरिटीलाई नै, ४ महिना भित्र सबैलाई लाईसेन्स



काठमाडौं । यातायात ब्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाईसेन्स छाप्ने मास प्रिन्टर तथा स्मार्ट लाईसेन्स कार्ड उपलब्ध गराउने जिम्मा मद्रास सेक्युरिटि प्रिन्टर्स प्रेसलाइ दिएको छ । यातायात ब्यवस्था विभागले स्मार्ट लाईसेन्स प्रिन्टर, स्मार्टकार्ड तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराउने कम्पनीका लागि ग्लोबल टेन्डर आह्वान गरेकोमा मद्रास सेक्युरिटीले उक्त टेन्डर हात पारेको हो ।

laxmi

टेन्डरका लागि ३ ओटा कम्पनीले आवेदन दिएका थिए । तर, अन्य कम्पनीको तुलनामा ४० देखि ४५ प्रतिशत कम रकम वीड गरेपछि मद्रासलाई ठेक्का दिन लागिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार अब उक्त कम्पनीले विभागलाई लाईसेन्स वितरणमा आवश्यक विभिन्न किसिमका उपकरणहरुदेखि स्मार्टकार्ड समेत उपलब्ध गराउने भएको छ ।

विभागले आफ्ना सेवाग्राहीलाई स्मार्टकार्ड लाईसेन्स वितरण सहजीकरणका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । यसअघि पनि विभागमा लाईसेन्स वितरण सहजीकरण गर्नका लागि उपकरणहरु उपलब्ध गराउन मद्रास सेक्युरिटी प्रेसले नै ठेक्का पाएको थियो । यो बर्षका लागि भने कम्पनीले १९ लाख ७० हजार २ सय अमेरिकी डलरमा विभिन्न प्रिन्टर तथा स्मार्टकार्डहरु उपलब्ध गराउने महानिर्देशक दाहालले बिजखबरलाई बताए ।

उनका अनुसार हाल विभागबाट ५ लाख जना सेवाग्राहीले स्मार्टकार्ड लाईसेन्स पाउन बाँकी छ । उनले मद्रास सेक्युरिटी प्रेसले मास प्रिन्टर र स्मार्टकार्ड उपलब्ध गराएपछि ३ देखि ४ महिनाभित्र सबै लाईसेन्स बाँडेर त्यसपछि ट्रायल दिएको १ हप्तामै लाईसेन्स पाईने व्यबस्था मिलाउन लागिएको जानकारी दिए ।

यसअघि विभागलाई मद्रास सेक्युरिटीले उपलब्ध गराएका मेशिनले काम गर्न नसकेपछि नेपाली निजी कम्पनीलाई नै उक्त लाईसेन्स छाप्ने जिम्मा दिईएको थियो । विभागले जिम्मा दिएको नेपाली निजी कम्पनी ‘मालिका’ को समयसिमा सकिएपछि हाल विभागबाट लाईसेन्स वितरण बन्द भएको छ ।

अबको १५ दिनमा ठेक्का पाएको कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले विभागलाई सम्पुर्ण डकुमेन्ट बुझाएर उपकरण उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL