Logo

महानगरले तोक्यो निजी विद्यालयहरुको शुल्क, मासिक ३६ सय भन्दा बढि लिन नपाईने

महानगरले तोक्यो निजी विद्यालयहरुको शुल्क, मासिक ३६ सय भन्दा बढि लिन नपाईने



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न निजी विद्यालयहरुको अधिकतम शुल्क निर्धारण गरेको छ । कामपाले २ बर्षअघिको शुल्कमा केही थप गरेर आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) बिद्यालयले लिन पाउने अधिकतम शुल्क तोकेको हो ।

laxmi

कामपाका शिक्षा अधिकारी निर्मला केसीका अनुसार बिद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले निजी बिद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ बर्गमा बर्गीकरण गरेको छ । यसरी बर्गीकरणमा परेका बिद्यालयले आफ्नो बर्गअनुसारको अधिकतम् शुल्क लिन पाउनेछन् ।

समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १,६३० कायम गरेको छ । गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको छ ।

यस अघि ती बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १,५७५ ; १,९६९ र २,३६३ रुपैयाँ थियो । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ कायम गरिएको छ । यस अघि ती बर्गका बिद्यालयको अधिकतम् शुल्क क्रमशः १,३५०; १,८००; २,२५० र २७०० रुपैयाँ कायम थियो ।

माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयले २,५३७ रुपैयाँ अधितम् शुल्क लिन पाउनेछन् । यस अघि त्यस बर्गका लागि अधिकत् शुल्क १,८३८ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको छ । यस अघि ती बर्गका बिद्यालयको अधिकतम् शुल्क क्रमशः २,४५०; ३,०६३ र ३,६७५ रुपैयाँ थियो ।

बिद्यालयको बर्गीकरणका लागि ५४ बुँदा र अन्य उपबुँदामा सूचकहरु तोकिएका छन् । तीमध्ये बिद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेल मैदानजस्ता भौतिक पूर्वाधार; पुस्तकालय, शौचालय, खेलका सामाग्री जस्ता सुबिधा; बिद्यार्थी संख्या, शिक्षक, छात्रवृत्ति, बिद्यालय व्यवस्थापन समितिको बैठक, शैक्षिक उपलब्धी महिला शिक्षक अनुपात, छात्राबास, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी संख्यालगायत छन् ।

यी सूचकका आधारमा ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ ले बिद्यालय बर्गीकरण गर्छ । महानगर शिक्षा नियमावलीअनुसार समितिमा शिक्षा अधिकारीको संयोजकत्वमा बिषयगत प्रतिनिधित्व रहने व्यवस्था छ । यस समितिको फागुन २६ गते बसेको बैठकले चालु शैक्षिक सत्रको शुल्क निर्धारण गरेको हो ।

अतिरिक्त शुल्क
बिद्यालयहरुले मासिक शुल्कका रुपमा तोकिएको २ महिनाको शुल्क बराबर बार्षिक शुल्क लिन पाउनेछन् । यो शुल्कमा खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, बिद्यालय भवन मर्मत, पुस्तकालय र प्राथमिक उपचार पर्छ । त्यस्तै धरौटीका रुपमा मासिक शुल्कमा तोकिएको १ महिना बराबरको रकम लिन पाइने व्यवस्था छ । बिद्यालयहरुले परीक्षा शुल्कवापत् मासिक शुल्कको पचास प्रतिशतमा नबढाई लिन सक्नेछन् । यसबाहेक अभिभावकहरुसँग बैठक बसेर उनीहरुको सहमतिमा बिशेष प्रशिक्षण सञ्चालन र शुल्क तोक्न सक्नेछन् ।

शैक्षिक सामाग्रीवापत् बिद्यालयले मासिक शुल्कको १० प्रतिशतमा नबढ्ने गरी बर्षको एक पटक लिन पाउने पनि कामपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL