Logo

आँधी हुरीले बारा र पर्सामा प्राधिकरणको १५ करोड क्षति, १५ सय पोल ढले

आँधी हुरीले बारा र पर्सामा प्राधिकरणको १५ करोड क्षति, १५ सय पोल ढले



काठमाडौं । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बारा र पर्सामा आईतबार चलेको आँधी तथा हुरीका कारण प्राधिकरणका पोल, लाईन तथा विभिन्न बस्तुमार्फत सोही अनुसारको क्षति भएको हो । प्राधिकरणका अनुसार उक्त हावा हुरीका कारण १ हजार देखि १ हजार ५ सय ओटा पोलमात्रै ढलेका छन ।

प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ ।

हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणले जानकारी दिएको छ ।

भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL