Logo

निर्मला प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा

निर्मला प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा



काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका आरोपीत ६ जना प्रहरी धरौटीमा रिहा भएका छन ।

सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारीलाई जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले रिहा गर्ने आदेश जारी गरेको हो ।

अदालतले यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई ५–५ लाख रुपैयाँ धरौटीमा रिहाइको आदेश गरेको छ ।

सो मुद्दामा अन्य प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी फरार रहेको जिल्ला अदालतले जानकारी दिएको छ । त्यसैगरी सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन प्रहरी नायब उपरीक्षक सेटी, प्रहरी निरीक्षकद्वय खड्का र जगदीशप्रसाद भट्टलाई पनि ४–४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जिल्ला अदालतका डिठ्ठा रुद्रप्रसाद बोगटीले बताए ।

त्यसैगरी उक्त सार्वजनिक न्याय कसूरविरुद्धको मुद्दाका प्रतिवादी तत्कालीन प्रहरी नायब निरीक्षक हरिसिंह धामीलाई ३ लाख ५० हजार रुपैयाँ र प्रहरी नायब निरीक्षक रामसिंह धामीलाई ३ लाख रुपैयाँ तथा प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन । उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्का विष्टले भाइ दिलीपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

‘अदालतमा अनुपस्थित रहेकाको सवालमा पनि कानूनी प्रक्रिया अघि बढेको छ ।’ जिल्ला अदालतका डिठ्ठा बोगटीले भने, ‘फरार प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन ३५ दिने सूचना जारीसमेत भइसकेको छ ।’ उनले आज बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताए । साथीका घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL