Logo

ट्राफिक प्रहरीको ‘ह्वील लक’ एक्सन, १ हजार ५४८ सवारी साधन कारबाहीमा

ट्राफिक प्रहरीको ‘ह्वील लक’ एक्सन, १ हजार ५४८ सवारी साधन कारबाहीमा



काठमाडौं । ट्राफिक प्रहरीको ‘ह्वील लक’ अन्तरगत १ हजार ५ सय ४८ सवारीसाधन कारबाहीमा परेका छन् । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने ती सवारी साधनलाई कारबाही स्वरुप ह्वील लक (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तरगत ‘ह्वील लक’ लगाएको बताए । ‘बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौं,’ उनले भने ।

मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङग्र तथा चारपाङग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पुर्याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै ५ सय रुपैयाँ देखि १ हजारसम्म जरिवना गर्दै आएको छ ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।

महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL