Logo

अव्यवस्थित प्रतिक्षालय हटाउँदै कामपा, नभएका स्थानमा थपिने

अव्यवस्थित प्रतिक्षालय हटाउँदै कामपा, नभएका स्थानमा थपिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरभित्रका अनावश्यक र अव्यवस्थित यात्रु प्रतिक्षालय हटाउने भएको छ ।

बुधबार सहरका यात्रु प्रतिक्षालयको अवस्था र आवश्यकता अबलोकन गरिसकेपछि बस स्ट््याण्ड अध्ययन कार्यदलका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले यस्तो जानकारी दिएका हुन ।

‘सहरमा कतै आवश्यकता नै नभएको ठाउँमा पनि बस स्ट््याण्ड भेटिए’ उनले भने, ‘कतै चाहिने ठाउँमा एउटा पनि छैन । यिनीहरुको आकार, प्रकार र बनावट पनि मनलाग्दी छ । यसलाई अब व्यवस्थित बनाउँछौं ।’

अध्ययन कार्यदलले बुधबार काठमाडौंका विभिन्न ठाउँमा, बस स्ट््याण्डको अवलोकन गरेको थियो । संयोजक महर्जनका अनुसार, स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकार सम्पन्न समितिमा प्रतिवेदन दिइनेछ । समितिले बिगतमा प्राप्त भएका प्रस्ताव, सहरको बिद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने? कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निक्र्यौल गर्नेछ । यात्रु तथा सार्वजनिक यातायात दुवैलाई आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो ।

महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा गठित अधिकार सम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल सदस्य रहेका छन । त्यस्तै महर्जनको संयोजकत्वमा गठित कार्यदलमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, सडक बिभाग, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि तथा महानगरको कानुन महाशाखा, नगर प्रहरी महाशाखाका प्रमुख र पूर्वाधार बिकास बिभागका इञ्जिनियर सदस्य छन भने कार्यदलको सदस्य सचिवमा उपनिर्देशक गंगाधर गौत्तम रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL